२१ जेठ २०८३, बिहीबार

नारायणगढ–बुटवल सडक धमाधम कालोपत्रे हुँदै

नारायणगढ–बुटवल सडक धमाधम कालोपत्रे हुँदै

विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्रे भइरहेको छ ।

गैंडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ ।

सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडका ठेक्का व्यवस्थापक राजेश झाले हालसम्म ३ किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिएको जानकारी दिए । ‘हामीले यस वर्ष २० किलोमिटरभन्दा बढी कालोपत्र गर्ने योजनाका साथ काम गरिरहेका छौं,’ उनले भने, ‘गैंडाकोटको भेडाबारीबाट झराही खोला, रजहरमा २ किलोमिटर क्षेत्र तथा देवचुलीको लोकाहाबाट कावासोतीको डण्डासम्म कालोपत्र गर्ने गरी काम अगाडि बढाएका छौं ।’

अहिले कालोपत्र भइरहेको क्षेत्रबाहेक थप ५ किलोमिटर सडक कालोपत्रको तयारी छ ।

सडक विस्तारका लागि निर्माण कम्पनीले १ हजारभन्दा बढी जनशक्ति तथा २०० बढी उपकरणको प्रयोग गरिरहेको झाले बताए । सडक विस्तारका लागि ८० टिपर, ३० एक्साभेटर, १३ सेट रोलर र १३ सेट ग्रेडर तथा डोजर सहितका उपकरणको प्रयोग गरिएको छ । डण्डास्थित अक्सपाल्ट प्लान्टबाट उत्पादित सामग्री लगेर कालोपत्रको काम भइरहेको छ ।

चालू आर्थिक वर्षभित्र ५० प्रतिशत काम सक्ने लक्ष्य रहेको भए पनि वर्षात लगायत कारण काममा ढिला हुनसक्ने ठेक्का व्यवस्थापक झाले बताए ।

नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनीयर धीरज ढकालले हालसम्मको प्रगति ३० दशमलव ५ प्रतिशत रहेको बताए । हाल सडकमा कल्भर्ट निर्माण लगायत काम भइरहेको छ । उनले भने, ‘मासिक ३ प्रतिशतभन्दा बढी प्रगति हुने गरी काम भइरहेको छ ।’

सडक विस्तारका लागि माटो फिलिङ गर्ने, बिजुलीको पोल सार्ने काम सँगसँगै भइरहेको छ । सडक विस्तारका लागि आवश्यक पर्ने माटो, ढुंगा, गिट्टीलगायत कच्चा पदार्थको समस्या छैन । माटो तथा ढुंगा, गिट्टीका लागि स्थानीय तहले सहयोग गरेका छन् । ४ वर्षअघि विस्तारको काम शुरू भएको नारायणगढ–बुटवल खण्डको शहरी क्षेत्रमा ४ लेनका अतिरिक्त २ लेन तथा ग्रामीण क्षेत्रमा ४ लेनमा राजमार्ग फराकिलो गरिँदैछ ।

दाउन्ने पहाडको ५ किलोमिटर क्षेत्रमा भौगोलिक अवस्थाका कारण सडक ३ लेन विस्तार गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्