
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोहेरो झमेलामा फसेका छन् । उनीविरुद्ध सर्वोच्च अदालतमा पासपोर्ट दुरुपयोग सम्बन्धी मुद्दा रहेको छ भने चितवन क्षेत्र नम्बर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारीबारे चार वटा उजुरी परेका छन् । लामिछानेले चैत २० मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका थिए ।
लामिछानेविरुद्ध मंगलबार परेका ४ वटा उजुरीलाई बुधबार टुंग्याइने भएको छ । ३ वटा उजुरी उम्मेदवार र उनका प्रतिनिधिले गरेका हुन् भने एउटा उजुरी कानून व्यवसायी युवराज पौडेलले इमेलमार्फत दर्ता गराएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । अन्य ३ जनाले उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले दिने दाबी विरोधअन्तर्गत उजुरी परेको हो ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले उजुरी दर्ता गराएका छन् ।
यसैगरी युवराज सफलले नै दायर गरेको मुद्दामाथि सर्वोच्चमा बुधबार सुनुवाइ हुँदैछ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबार पेशी तोकिए पनि हेर्न नमिल्ने भएपछि बुधवारका लागि सुनुवाइ तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमवार दर्ता भएको थियो ।
००००
उच्च अदालत पोखराले गत वर्ष वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिका–१८ मा पुनः मतगणनाको आदेश दिएको छ ।
सो वडामा तीन मतान्तरले नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद तिमिल्सिना विजयी भएका थिए । नेकपा एमालेका तर्फबाट वडाध्यक्षका प्रत्याशी पुष्कल थापाले गणनामा धाँधली भएकाले पुनः मतगणनाको मागसहित उच्च अदालतमा निवेदन दिएका थिए ।
००००
वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाउने निर्णय गरेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणको निर्देशनअनुसार संघले हवाई भाडा घटाएको हो । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै हवाइ भाडा पनि घटाउने निर्णय गरेको हो। जसअनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै भाडा ४४० रुपैयाँ घटेको छ ।
००००
आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गर्न सत्तारुढ ५ दलले अपिल गरेका छन् । सत्ता गठबन्धनमा आबद्ध १० मध्ये ५ दलले मात्र गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न अपिल गरेका हुन् । यससँगै कम्तीमा उपनिर्वाचनका सन्दर्भमा सत्तारुढ दलहरू एकठाउँमा नरहने देखिएको छ ।
००००
काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिका प्रमुखबीच मंगरबार भेटघाट भएको छ। काठमाडौँ महानगर प्रमुख शाहसँगको भेटपछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै धरानका मेयर हर्क साम्पाङले आफूहरूबीच पहिलो पटक भेट भएको र रमाइलो कुराकानी भएको लेखेका छन्।
००००
आफूबाट फुत्किएको सत्ता प्राप्त गर्न निकै पापड बेलेको नेपाली कांग्रेस सरकार विस्तार गर्दा मन्त्री चयनको किचलोमा फस्न पुगेको छ । राष्ट्रपति निर्वाचनमा माओवादीलाई आफूतिर तानेर सत्ता समीकरण फेर्न सफल भएको कांग्रेस आन्तरिक भागबण्डा मिलाउन नसक्दा समस्यामा परेको हो ।
झण्डै एक महिना १६ वटा मन्त्रालय आफैंसँग राखेपछि गत शुक्रबार बल्ल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तार गरेका थिए । तर, अझै कानून, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या गरी ६ वटा मन्त्रालय प्रधानमन्त्रीसँगै छन् । कांग्रेसको आन्तरिक किचलोले गर्दा प्रचण्डले चाहेर पनि फेरि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन् ।
गत शुक्रबार कांग्रेसभित्रको किचलोका कारण ६ वटा मन्त्रालय आफैंसँग राखेर प्रधानमन्त्रीले १० वटाको जिम्मेवारी बाँडफाँट गरेका थिए । कांग्रेसमा सभापति शेरबहादुर देउवाले २ वटा मन्त्रालय लिन आग्रह गरे पनि शेखर पक्षले ३ वटामा दाबी गरेको छ । तर देउवा तत्काल मन्त्री चयन नै नगर्ने र ढिलोचाँडो गलाउने नीतिमा लागेका छन् । शेखर पक्षले अझै पनि तीनवटा मन्त्रालय नदिए आफ्नो पक्षले सरकारमा नाम नपठाउने अडान लिइरहेको छ ।
००००
मन्त्रिपरिषद्को पछिल्लो ३ वटा बैठकले ३० वटा निर्णय गरेको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उक्त निर्णयहरू सार्वजनिक गरेकी हुन् । विभिन्न मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले गरेको निर्णयमा १० चैतमा ९ वटा, १४ चैतमा १० वटा र २० चैतमा ११ वटा निर्णय रहेको मन्त्री शर्माले बताइन् ।
मन्त्रिपरिषदका यस्ता निर्णयमा विकास निर्माणका आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने, बढुवा र नियुक्त तथा कानून संशोधन गर्नेसहित छन्।
००००
शेयर बजारको मापक नेप्से परिसूचक १८६६.६८ विन्दुमा झरेको छ । नेप्से सूचक मंगलवार ५.२० अंकले घटेको हो । बजार ०.२८ प्रतिशतले घटेको भए पनि कालिञ्चोक दर्शन लिमिटेडले भने सबैभन्दा बढी कमाएको छ । आज यो कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
००००
मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई थप चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार रिक्त भएका चार मन्त्रालयको कार्यभार मुख्यमन्त्री यादवलाई तोकेका हुन् । एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि मन्त्रालयको जिम्मा मुख्यमन्त्रीलाई नै दिइएको हो ।
००००
नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा ११८ जनाले उम्मेदवारी दिएका छन् । कूल ६४ पदमा हुने निर्वाचनमा ११८ जनाको उम्मेदवारी परेको हो । यही चैत २९ गते हुने निर्वाचनमा उम्मेदवारी दर्ताको समय मंगलबार ५ बजेसम्म तोकिएको थियो ।