
नेपाल टेलिकमको मधेश प्रदेशको कार्यालय प्रादेशिक निर्देशनालय वीरगञ्ज परिसरभित्र मंगलवार बिहान ५–७ ट्रक फोहोर फालिएकोप्रति कम्पनीले खेद व्यक्त गरेको छ ।
टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन् ।
मंगलवार बिहान ९ः१५ बजेतिर अचानक १५–२० जना अनधिकृत व्यक्तिको समूहले ५–७ ट्रयाक्टर फोहोर फालेको घटनाप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘महानगरको सफा र सुन्दर नगर निर्माण गर्ने अभियानको विरुद्ध हुने गरी उक्त समूहद्वारा भएको घटनाका कारण निर्देशनालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिनुका साथै कार्यालयको काम गर्ने वातावरणमा समेत नकारात्मक असर पर्न गएकाले कम्पनी यस्तो गतिविधिप्रति खेद व्यक्त गर्दछ । उक्त अमर्यादित कार्यको भत्र्सना गर्दै कम्पनी भविष्यमा यस्ता अवान्छित घटना हुन नदिन सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छ ।’