३० जेठ २०८३, शनिबार

कमसल माटोले उपकरण बिग्रिँदा नागढुंगामा सुरुङ खन्न रोकियो

कमसल माटोले उपकरण बिग्रिँदा नागढुंगामा सुरुङ खन्न रोकियो

सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिँदा नागढुंगा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ ।

यो समस्या देखिएको २० दिन भएको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ । पहिले दैनिक तीनदेखि चार मिटर खन्ने गरेकोमा अहिले रोकिएको आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिए। 

अरू काम चले पनि सुरुङ खन्ने प्रगति कम रहेको छ ।

त्यहाँको भूबनोट कमजोर रहेको र काम गर्दा उपकरणमा बिग्रने समस्या आइरहेको छ । आयोजनाले निर्माण कम्पनीलाई राम्रोसँग ‘सिस्टम’ ल्याउन र आवश्यक भएर उपकरणका पार्ट फेर्न भनेको छ । उनले भने, 'आयोजना र कम्पनीका बीचमा कुराकानी भइरहेको छ', निर्माण कम्पनीसँग अहिले जनशक्ति र उपकरण दुवै पर्याप्त भएको आयोजनाले जनाएको छ ।

कम्पनीले तीव्र गतिमा काम गरिरहँदा यो समस्याका कारण ‘ब्रेक डाउन’ भएको प्रमुख श्रेष्ठले बताए।

डिजाइनमा यो ठाउँमा यस्तो चट्टान छ भन्ने अनुमान गरिएकामा त्योभन्दा फरक आइरहेको छ । धादिङ र काठमाडौँमा जग्गा प्राप्तिको समस्याको समाधान भइसकेको छैन । काठमाडौँतर्फ निर्माणस्थलमा २-३ जनाको व्यक्तिगत जग्गा मुआब्जा दिनुपर्ने छ ।

धादिङतर्फ स्थानीयवासीले उपभोग गरिरहेको जग्गा गुठीको छ । गुठीको जग्गाको मुआब्जा अरूभन्दा कम पाउने भए पनि उनीहरूले बढी मागरिहेका उनले बताए।

जग्गा उपलब्ध नहुँदा काममा बाधा पुगेको छ । पहिरोको तल पर्खाल लगाउनेलगायत मर्मतको काम गर्नुपर्ने भए पनि जग्गाको कारण गर्न सकिएको छैन ।

उनले भने, 'स्थानीयवासीको पूरा गर्न नसकिने मागका कारण निर्माणमा बाधा पुगेको छ', आयोजनाले निर्माणस्थलमै ‘आइसोलेशन’ को व्यवस्था गरेर निर्माण अघि बढाइरहेको थियो । त्यति हुँदाहुँदै पनि कहिले कामदारलाई सङ्क्रमण देखिएर त कहिले निर्माण सामग्री र उपकरण ल्याउन बाधा पग्दा निर्माणमा ढिलाइ भयो ।'

अहिले आयोजना पूरै ठप्प नभएर सुरुङ खन्ने काममा मात्रै बाधा पुगेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताए। 

अरू संरचना निर्माण नियमित भइरहेको छ । मुख्य सुरुङको लम्बाइ २ किलोमिटर ६ सय ८८ मिटर रहेकोमा अहिलेसम्म जम्मा १ हजार आठ सय ६९ किमी खन्न सकिएको छ ।

सुरुङभित्र ‘कङ्क्रिट लाइलिङ’को काम ३४.८ प्रतिशत प्रगति रहेको छ ।

जमिनमा गर्ने काममध्ये सडकमार्ग उत्खनन ७९.२ प्रतिशत र तटबन्ध पुर्ने काम (इब्याङमेन्ट फिलिङ) ७०.५ प्रतिशत सकिएको छ ।

आयोजनाअन्तर्गत नै निर्माण गर्नुपर्ने १२ संरचनामध्ये ११ सम्पन्न भइसकेको छ । फ्लाई ओभर निर्माणाधीन छ । आयोजनामा ३ अण्डरपास, ४ बक्स कल्भर्ट, १ ओभर पास र ३ पुल सकिएको छ ।

आयोजनामा हालसम्म भौतिक प्रगति ५०.१५ प्रतिशत रहेको छ ।

जापान सरकारको ‘सफ्ट लोन’मा निर्माण भइरहेको सुरुङमार्ग निर्माणको शरूमा अवधि ४२ महिना थियो ।

नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच २०७६ असोजमा सम्झौता भएर कात्तिकमा आयोजना शिलान्यास भएको थियो ।

सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा-नौबिसे सडकखण्डमा दैनिक रूपमा हुने जाम हट्ने विभागले जनाएको छ ।

काठमाडौँ उपत्यका प्रवेश गर्ने सडकमा वर्षौँदेखि रहेको सडक जाम कम गर्न नागढुंगा-मुग्लिन सडक विस्तार समेत अघि बढाइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्