
सर्लाहीको कविलासी नगरपालिका-८ अगर्वाबाट चैत २२ गते सशस्त्र प्रहरीले स्रोत नखुलेको ५ लाख भारतीय र ५ लाख नेपाली रुपैयाँसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
नम्बर १० गण सर्लाहीले उल्लेखित रुपैयाँसहित सोही जिल्लाको धनकौल गाउँपालिका-६ घर भई हाल हरिवन नगरपालिका ११ बस्ने ४५ वर्षीय गान्धी साह सोनार, रुपन्देही जिल्लाको साविक फरेना गाविस ६ बस्ने ३५ वर्षीय राजेश बनियाँ र भारत घर भई हाल वीरगञ्ज महानगरपालिका-१९ बस्ने १९ वर्षीय अनिल साहलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीले मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको ३ जना सवार प्रदेश नं २-०३-०१५ प ५९६९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा उनीहरूको साथमा उक्त रुपैयाँ फेला परेको र सो रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।
उनीहरूको साथबाट भारतीय रुपैयाँ ५ सय दरका ९ सय ९६ वटा (४ लाख ९८ हजार), २ हजार दरको एक वटा र नेपाली रुपैयाँ, ५० दरका ३२ वटा (१ हजार ६ सय), १ सय दरका ४ सय ८४ वटा (४८ हजार ४ सय), ५ सय दरका ३ सय वटा (१ लाख ५० हजार), १ हजार दरका ३ सय वटा (३ लाख) नोट बरामद भएको हो ।
नियन्त्रणमा लिएका तीनै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।