
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको राजश्व संकलनको अवस्था राम्रो नभएको बताएका छन्।
शुक्रवार आर्थिक पत्रकार संघ (नाफिज)को छलफल कार्यक्रममा अर्थमन्त्री डा.महतले आयात प्रतिबन्ध,कोरोना महामारी ,भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजश्व संकलन लक्ष्यअनुसार संकलन राम्रो नभएको बताए।
उनले प्रत्येक वर्ष सरकारले जीडीपी र अर्थतन्त्रका अन्य सूचकभन्दा राजश्वको लक्ष्य बढी राखे पनि लक्ष्य प्राप्त हुँदै आएकोमा चालु आर्थिक वर्षमा लक्ष्य पूरा नहुने अवस्थामा रहेको बताए।
अर्थमन्त्री डा. महतले आन्तरिक रूपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गरे।
उनले मौद्रिक नीतिका उपकरणहरू प्रयोग गरी बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको पनि बताए।
बैंकको कर्जाको ब्याजदर कम गर्न सक्ने अवस्था भए बैंकहरूले सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
अर्थतन्त्रको अवस्थाको विषयमा जनतालाई सकारात्मक सन्देश दिनुपर्ने र अर्थतन्त्र बिग्रियो भने पनि कतिपय तथ्यांकहरू राम्रो रहेको महतले दाबी गरे।
उनले मुलुकमा लगानीको वातावरणलाई सकारात्मक बनाउन मौद्रिक नीति र सरकारको आर्थिक नीति एउटै लक्ष्य प्राप्तिको लागि जान जरुरी रहेको बताए।