०५ साउन २०८३, मंगलबार

नक्कली परीक्षार्थी छुटाउन तीव्र दबाब, कन्सल्टेन्सी सञ्चालकहरू बोर्ड फालेर फरार

चैत २४, २०७९
नक्कली परीक्षार्थी छुटाउन तीव्र दबाब, कन्सल्टेन्सी सञ्चालकहरू बोर्ड फालेर फरार

एसईई परीक्षामा सहभागी हुँदै गर्दा मोरङका विभिन्न विद्यालयबाट पक्राउ परेका नक्कली परीक्षार्थी छुटाउन केन्द्रदेखि स्थानीय नेताहरूसम्मको दबाब आउन थालेको प्रहरीले जनाएको छ ।

बुधवार र बिहीवार प्रहरीले मोरङका ३ विद्यालयबाट २०१ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिएको थियो । केराबारी गाउँपालिकामा रहेको सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना, झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जनालाई प्रहरीले बिहीवार नियन्त्रणमा लिएको थियो ।

त्यसअघि बुधवार सरस्वती मावि केन्द्रबाट २ जना पक्राउ परेका थिए ।

ती परीक्षार्थीहरूलाई छुटाउन सभामुख देवराज घिमिरेको सचिवालयबाट समेत दबाब आएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख समेत रहेका इन्सपेक्टर उदयशमशेर जबराले लोकान्तरसँग बताए । साथै संघीय लिम्बूवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले पनि फोन गरेर नक्कली परीक्षार्थी छुटाउन दबाब दिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका परीक्षार्थीहरू पहिचानको आन्दोलन पक्षधर रहेको र उनीहरूलाई नछाड्दा आन्दोलनमा प्रभाव पर्ने भन्दै लिङ्देनले राति अबेरसम्म पनि दबाब दिएको प्रहरी स्रोतको दाबी छ । केही नलागेपछि अन्तिममा माथिबाट फोन आउँछ भन्दै उनी प्रहरी कार्यालयबाट बाहिरिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

बोर्ड फालेर भागे कन्सल्टेन्सी सञ्चालक

नक्कली परीक्षार्थीहरू परिचालन कन्सल्टेन्सीले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

‘दैनिक ४ सयदेखि एक हजार रुपैयाँसम्म लिएर परीक्षा दिन आएको खुलेको छ,’ इन्स्पेक्टर जबराले भने, ‘धेरै कन्सल्टेन्सी धरानका छन् । परीक्षामा लेख्न आउने धेरै धरान र दमकका छन् ।’

कन्सल्टेन्सीले एक विद्यार्थीबाट ३० देखि ४० हजार रुपैयाँसम्म लिएको खुलेको छ ।  

धरानका तीनवटा कन्सल्टेन्सी र उर्लाबारीको एक कन्सल्टेन्सीको संलग्नता खुलिसकेको प्रहरीले जनाएको छ । धरान पान मारीको एलिसा कन्सल्टेन्सी, धरानकै आचार्य लाइनको प्यासिफिक कन्सल्टेन्सी, धरान– १० मा रहको युनिक कन्सल्टेन्सी र मोरङको उर्लाबारीको गुड ह्विल कन्सल्टेन्सीले विद्यार्थीसँग मोटो रकम लिएर यस्तो धन्दा गर्ने गरेको खुलेको छ ।

अहिले ती चारवटै कन्सल्टेन्सीका सञ्चालक बोर्ड नै हटाएर फरार भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

शिक्षकको पनि संलग्नता 

खुलातर्फको परीक्षा केन्द्र भएका र नक्कली परीक्षार्थी पक्राउ परेका केन्द्रका अध्यक्षमाथि नै प्रहरीले अनुसन्धान थालेको छ । सरस्वती माध्यमिक विद्यालयमा दैनिक परीक्षा शुरू हुनुभन्दा एक घण्टाअगाडि नै प्रश्न पत्र परीक्षार्थीलाई दिने गरेको खुलेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले बताएका छन् ।

‘कन्सल्टेन्सी, केन्द्राध्यक्ष तथा शिक्षकहरूको समेत संलग्नता देखिएको छ,’ एक प्रहरी अधिकृतले भने, ‘अहिलेसम्मको अनुसन्धानले धेरै तानिने देखिएको छ । परीक्षा केन्द्र नै किनबेच भएको हुनसक्ने आशंका छ ।’

पक्राउ परेका नक्कली परीक्षार्थीलाई प्रहरीले शिक्षा ऐन, २०२८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ । उनीहरूले दिएका सबै परीक्षा रद्द गरिने जिल्ला शिक्षा समन्वय इकाई मोरङले जानकारी गराएको छ । जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमका अनुसार पक्राउ परेका नक्कली परीक्षार्थीले दिएका सबै परीक्षा रद्द हुने भएको हो ।

प्रहरीका अनुसार ती नक्कली परीक्षार्थीहरूले आफूले परीक्षा दिएका व्यक्तिहरूलाई समेत नचिन्ने गरेको पाइएको छ । कल्पना लिम्बूको परीक्षा लेख्न आएकी स्वस्तिमा लिम्बूलाई बुधवार प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई नातामा काका पर्ने शरण लिम्बूले परीक्षा लेख्न लगाएका थिए । कल्पनालाई स्वस्तिमाले नचिन्ने गरेको खुलेको प्रहरीले नजनाएको छ । 

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बेलबारी, लेटाङ, उर्लाबारी, रंगेली, सिजुवा र जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्