
नक्कली बुबा खडा गरी झुट्टा कागजातका आधारमा नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्ने एक तिब्बती महिला पक्राउ परेकी छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तिब्बती शरणार्थी निमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो ।
सरकारी कार्यालयको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी उनले नेपाली नागरिकता लिएको खुलेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट निमा ल्हामो गुरुङको नाममा जारी भएको नागरिकतासहित फेला परेकी उनलाई चैत २३ गते बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
उनी तिब्बतबाट भारत बिहार दिल्ली हुँदै २ वर्षदेखि बौद्धको बुद्ध टुसाल क्याम्पमा बसोबास गर्ने गरेकी थिइन् ।
सोही क्याम्पमा बसोबास गर्ने व्यक्ति मार्फतबाट नेपाली नागरिक कृष्ण बहादुर कटुवाललाई नागरिकता बनाउन सम्पर्क गरेकी थिइन्।
त्यसपछि कटुवालले ५ लाख रुपैयाँ लिएर उनको नागरिकता बनाइदिएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जनाएका छन् ।
पढ्नुहोस् यो पनि
प्रतिव्यक्ति ५ लाख लिएर ५ सय तिब्बेतियनलाई नागरिकता दिएको खुलासा