
भारतको पञ्जाब राज्यलाई केन्द्रित गरेर अभियान चलाइरहेका खालिस्तान समर्थक अमृतपाललाई पक्राउ गर्न भारतीय सुरक्षा संयन्त्र असफल भइरहेको छ ।
अनेक प्रयास गर्दा पनि भारतीय सुरक्षा संयन्त्रले उनलाई फेला पार्न सकेको छैन । अमृतपालका सहयोगी र साथीहरूलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।
पञ्जाबका सिख समुदायका मुद्दा उठाएर क्रान्तिकारी नेताको छवि बनाउन चाहेका अमृतपालविरुद्ध भारत सरकारले कारवाही प्रक्रिया अगाडि बढाएको छ । कारवाहीअन्तर्गत नै प्रहरीले उनलाई पक्राउ गर्न खोजेको हो तर सफल हुन सकिरहेको छैन । अमृतपालले धार्मिक भावनालाई समेटेर राजनीतिक मुद्दा अगाडि ल्याएका छन् ।
धार्मिक पर्व वैशाखीमा अमृतपाललाई पक्राउ गर्ने रणनीतिअनुसार पञ्जाब प्रहरीले १४ अप्रिलसम्म सबै सुरक्षाकर्मीको बिदा रद्द गरेको छ । प्रहरीले सुरक्षा संयन्त्रलाई मजबुत बनाएर राख्न खोजेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।