
सभामुख देवराज घिमिरेले लायन्स क्लबले प्रजातान्त्रिक भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।
‘लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपाल’को शनिवार प्रथम अधिवेशनमा सभामुख घिमिरेले क्लबले समाजमा स्वास्थ्य, शिक्षा, स्वच्छ वातावरण लगायत विपत्तिमा गरेका भूमिका प्रशंसनीय रहेको बताए ।
उनले भने, ‘विक्रम संवत् २०७२ सालको भूकम्पमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालमार्फत ४५ करोडभन्दा बढी लगानी गरी विभिन्न भवन निर्माण, विद्यार्थीको पठनपाठनमा सहजीकरण गरी शिक्षा क्षेत्रमा ठूलो योगदान भएको छ ।’
लायन्सले त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा आधुनिक ‘टीयू लाइन्स ब्लड बैंक’ स्थापना गर्ने नेतृत्व लिएकामा सम्बन्धित निकायले पहल गरी छिट्टै सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालका डिस्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलले विश्वमा सात सय ४३ भन्दाबढी डिस्ट्रिक्टमा पहिलो डिस्ट्रिक्ट गर्भनर घोषित भएसँगै जिम्मेवारीलाई आत्मसात् गरेकाले क्लबका कमीकमजोरी पहिचान गरी विश्वमै अब्बल रूपमा स्थापित हुन पहल गर्ने बताए ।
‘लायन्स आफैंमा सेवाका क्षेत्रमा काम गर्दै आएको संस्था हो । त्यसमा पनि ३२५ एमको नारा शहरभन्दा दुर्गम गाउँ केन्द्रित भएर समस्या पहिचान गरी नागरिकले लाभ लिने गरी काम गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेर काम गर्दै आएको छ । विस्तारसँगै विकासमा पनि जानुपर्छ,’ उनले भने ।