
गायक प्रकाश सपूत यतिबेला आफ्नो अफिसियल नयाँ गीत सार्वजनिकको अन्तिम तयारीमा छन् ।
उनले ‘सकम्बरी’ शीर्षकमा नयाँ गीत ल्याउँदैछन्, जसको पोष्टरलाई लिएर पनि एक किसिमको अपेक्षा गरिएको छ ।
उनले यो गीत सिधै युट्युबमा भने सार्वजनिक गर्ने छैनन् ।
पहिले डिसहोममा रिलिज गर्ने र त्यसपछि मात्रै युट्युब लगायतका अन्य माध्यममा रिलिज गर्ने उनको तयारी छ ।
यही मंगलवार डिसहोमको एपमा यस गीत रिलिज गर्ने तयारी गरिएको प्रकाशले बताएका छन् ।
डिसहोममा सार्वजनिक भएपछि यो गीत उनको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ ।
अन्य विभिन्न माध्यमबाट पनि यो गीत सार्वजनिक गर्ने प्रकाशको तयारी छ ।
‘हामीले संगीतको व्यावसायिक विस्तारको प्रयास गरिरहेका छौँ । सर्जक सर्भाइभ हुन सके मात्रै सिर्जना गर्ने उर्जा हुन्छ’ उनले भनेका छन् ‘यो पालीलाई डिसहोम गो एप डाउनलोड गरेर सकम्बरी निःशुल्क हेर्न सुन्न सक्नुहुन्छ ! कुनै दिन राम्रा सिर्जना शुल्क तिरेर हेर्ने वातावरण हुनसक्छ ।’
प्रकाशले ३ महिनाभन्दा बढी समयको अन्तरालमा अफिसियल गीत सार्वजनिक गर्न लागेका हुन् ।
नयाँ वर्ष २०८० मा ‘जातीय विभेदविरुद्धको वर्ष’का रूपमा सिर्जना ल्याउने प्रकाशले बताएका छन् ।