
गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल प्रहरी, सुदूरपश्चिम र मधेश प्रदेश पुगेका छन् ।
विराटनगरको शहीद रंगशालामा शनिवार सम्पन्न भएको लिग चरणको खेलअन्तर्गत समूह ‘ए’तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल प्रहरी छन् । समूह ‘बी’तर्फ पहिलो सुदूरपश्चिम र दोस्रो मधेश प्रदेश छन् ।
विराटनगरको शहीद रंगशालामा शनिवार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ५–३ गोलले पराजित गरेको छ । सुदूरपश्चिमका दीपकराज जोशीले २, धीरेन्द्रबहादुर, शेरबहादुर चन्द र महेश नेपालीले १–१ गोल गरेका थिए ।
मधेश प्रदेशका विशाल क्षेत्री, रुपक दाहाल र रुपेश राईले १–१ गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच सुदूरपश्चिमका महेश नेपाली भएका छन् ।
अर्को खेलमा गण्डकी र कर्णाली प्रदेशबीच २–२ गोलले बराबरी भएको छ । गण्डकीका सङ्गम जेटी र असिम बाहेकले १–१ गोल गरे भने कर्णालीका जीवन राउतले २ गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच कर्णालीका राउत भएका थिए ।
प्रतियोगिताको आइतवार हुने सेमिफाइनलको पहिलो खेल त्रिभुवन क्लब र मधेश प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र नेपाल प्रहरीबीच प्रतिस्पर्धा हुनेछ ।