नयाँ दिल्ली, १६ भदौं– डेरा सच्चा सौदाका प्रमुख राम रहीम कति धूर्त छन् भन्ने प्रमाण उनले प्रहरीको पञ्जाबाट फुत्किनको लागि बनाइएको कोडवर्ड ‘रेड ब्याग’बाट थाहा हुन्छ ।

उनले प्रहरीलाई छक्याएर भाग्नको लागि निकै चलाखी योजना बनाएका थिए । तर उनको भाग्ने योजना प्रहरीले असफल बनाइ दिए । राम रहीमले भाग्नको लागि प्रयोग गरिएको कोडवर्डको बारेमा प्रहरीले खुलासा गरेका छन् ।
कोडवर्ड ‘रेड ब्याग’को प्रयोग गरी प्रहरीबाट भाग्ने र हिंसात्मक दंगा फैलाउने उनले योजना बनाएका थिए ।
अदालतले बलात्कार मुद्दामा बीस बर्षको जेल सुनाएपछि प्रहरीले उनलाई गुफाबाट बाहिर निकालेका थिए । त्यतिबेला उनले प्रहरीलाई छक्याएर भाग्नको लागि कोडवर्डको प्रयोग गरेका थिए ।
अदालते आफूलाई दोषी ठह–याइएपछि उनले धर्मपुत्रीका भनिएका हनिप्रीतलाई कोडवर्डका रुपमा ‘रेड ब्याग’ मागेका थिए ।
हनिप्रीतले उक्त ‘रेड ब्याग’ बाहिर निकालेको केही बेरमै वरिपरि गोली चलेको आवाज सुनिएको प्रहरी अधिकारीले बताएका छन् । उनले ‘रेड ब्याग’ माग्नुको कारण नै प्रहरीलाई छक्याएर भाग्नु थियो ।
‘रेड ब्याग’ माग्दा प्रहरीले उनलाई दोषी प्रमाणित गरेको छ भन्ने संकेत थियो । र यसको सन्देश उनका समर्थक र उनको सुरक्षामा खटिएका बडीगार्डलाई सूचित गर्नु थियो ।
‘रेड ब्याग’ माग्नुको अर्थ नै समर्थकले विरोध प्रदर्शन गरोस् र हिंसात्मक दंगा फैलाइयोस् भन्ने उनको आशय थियो । यसरी हुलदंगा चलिरहँदा प्रहरीलाई छक्याएर भाग्ने उनको योजना थियो । मिडियासँग कुराकानी गर्दै प्रहरी आइजी केके रावले भने ‘ पंचकुलाको सीबीआइको अदालतले राम रहीमलाई दोषी ठह–याए लगतै उनले कोडवर्डका रुपमा ‘रेड ब्याग’ ल्याइदिन आग्रह गरेका थिए ।’
उक्त ब्याग सिरसाबाट ल्याइएको थियो । आइजी रावका अनुसार उक्त ब्याग गाडीबाट बाहिर ल्याउँदा अदालतको दुईकिमी वरिपरी गोली चलेको आवाज आएको थियो र त्यहाँ तीनवटा अश्रुग्याँस समेत चलेको थियो ।

आइजी रावले भने ‘उनको ‘रेड ब्याग’को अर्थ हामीले त्यतिखेर नै बुझेका थियौं ।’ राम रहीम र उनकी धर्मपुत्री हनिप्रीत लामोसमयसम्म पंचकूलास्थित अदालत परिसरमा उभिरहेका थिए । राम रहीम आफू अदालत परिसरको बाटो भएर जान लागेको सन्देश उनले आफ्ना समर्थकलाई दिन चाहेका थिए । प्रहरीले राम रहीमलाई अदालत परिसरमा नउभिनको लागि आग्रह गरेका थिए ताकी उनका समर्थकहरु अदालत भित्र नपसुन् ।