०६ साउन २०८३, बुधबार
सरसर्ती २४ घण्टा

बार्गेनिङ प्रकरणमा ढाकाकुमारबारे निर्णय गर्दै रास्वपा, संसदमा पनि उठ्यो प्रश्न

बार्गेनिङ प्रकरणमा ढाकाकुमारबारे निर्णय गर्दै रास्वपा, संसदमा पनि उठ्यो प्रश्न

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठबारे आवश्यक निर्णय गर्न लागेको छ । 
पार्टीको अनुशासन आयोगको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ । सो बैठकले ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नेबारे आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्नेछ । 

यसअघि सोमबार ढाकाकुमारले अल्टिमेटमअनुसार पार्टीलाई २४ घण्टे स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरणमा उनले आफ्नो विज्ञप्तिमा जस्तै अडियो सम्पादन गरेर षड्यन्त्र भएको जिकिर गरेका छन् । यद्यपि उनले पार्टीले गर्ने जस्तोसुकै कारबाही भोग्न आफू तयार रहेको बताएका छन् । 


यसैगरी प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा समेत यो प्रकरणमा प्रश्न उठेको छ ।  नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले श्रेष्ठले मन्त्री बन्नको लागि व्यापारीसँग पैसा मागेको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताएका छन् । सांसद सदस्यले घुस मागेको विषयमा संसद् चुप लागेर बस्न नहुने उनले बताए ।
००००
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै २ करोड रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक प्रकरणमा माफी मागेको छ । 
सोमबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सो प्रकरणको सम्बन्धमा पार्टीको तर्फबाट माफी मागेका हुन् । उनले सो प्रकरणले प्रतिनिधि सभा सदस्यहरूको सम्मानमा चोट परेको भन्दै माफी मागेका हु्न् । उनले छानबिनका लागि समिति बनेको र आवश्यक कारबाही गरिने भन्दै सो घटनाले पार्टीलाई विचलित नबनाउने बताए ।
००००
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणमाथि अनुसन्धान हुने बताएका छन्। सोमबार बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले अडियो प्रकरणबारे अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन् ।  
००००
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विभिन्न समयमा सांसदले राखेका जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले उक्त रुलिङ गरेका हुन् ।
००००
पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा मृत भेटिएका दुई नाबालिकाको हत्यामा संलग्न दुई जना नाबालिका पक्राउ परेका छन् । तारामान बुढाका नाबालिका छोरी ११ वर्षकी रिना बुढामगर र नौ वर्षकी कालिमाया बुढामगरको हत्यामा संलग्न सोही ठाउँका दुई नाबालिका पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वकी प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन्  ।  
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । 

    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण अझै केही दिन बढ्ने बताए । “अहिलेको अवस्था हेर्दा अझै केही दिन सङ्क्रमण बढ्ने छ”, उनले भने, “त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर सङ्क्रमण बच्नुपर्दछ ।”
००००
सरकारी वार्ता टोली र मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता सोमवार सकारात्मक रूपमा टुंगिएको छ । 
सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले उनीहरूका तर्फबाट ल्याइएको ६ बुँदे मागका विषयमा सकारात्मक छलफल भएको जानकारी दिए । वार्ता मंगरबार पनि चल्नेछ । 
००००
आइतवार धौलागिरी आधार शिविरमा भएको हेली एभरेस्टको हेलिकप्टर दुर्घटना ‘ओभर लोड’का कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
दुर्घटनाको स्थिति र प्रकृति हेर्दा ओभरलोडका कारण भएको हुन सक्ने अनुमान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।
सोमवार प्रधानमन्त्री प्रचण्डले आचार्यलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।
००००
नेकपा एमालेले कर्णाली प्रदेश सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 
प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाइले संयुक्तरूपमा राजीनामा बुझाएका थिए । लगत्तै आज समर्थन फिर्ता लिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्