०२ असार २०८३, मंगलबार

मिटरब्याजी पीडितसँग आज पनि वार्ता

मिटरब्याजी पीडितसँग आज पनि वार्ता

सरकारी वार्ता टोली र मिटरब्याज पीडितहरुबीच आज पनि वार्ता हुने भएको छ । एक समूहसँग सहमति भएपनि दोस्रो समूह फेरि काठमाडौँ आएर आन्दोलन गर्न थालेपछि सरकारले पुनः वार्ता गरेको हो । जसअनुसार सोमबार गृह मन्त्रालयमा भएको  वार्ता सकारात्मक बनेको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले बताए ।  उनीहरूका तर्फबाट ल्याइएको ६ बुँदे मागका विषयमा सकारात्मक छलफल भएको उनको भनाइ छ । 

 ‘माग कसरी सम्बोधन गर्न सकिन्छ र विकल्प के हुनसक्छ भनेर छलफल भएको छ, उहाँहरूले छलफल गरेर आउँछौं भन्नुभएको छ, मंगलबार पुनः वार्ता हुनेछ ।’

वार्तामा पीडितहरूले ३ किसिमका माग राखेको कोइरालाले जानकारी दिए । उनका अनुसार एउटा प्रशासनिक, दोस्रो नीतिगत र तेस्रो कानूनी प्रश्न सहितको माग राखेका छन् । त्यसमध्ये पीडकले धम्क्याउने, तर्साउनेजस्ता विषयमा प्रशासनिक रूपमा हल गर्न सकिने र त्यस्ता सूचना प्राप्त हुने बित्तिकै गृह मन्त्रालयले कारबाही अघि बढाउने भनेर छलफल भएको छ । 

त्यसका अलावा लिखत खारेज गर्नेजस्ता विषयहरू मन्त्रिपरिषद्बाटै निर्णय गर्नुपर्नेजस्ता खालका छन् भने फैसला भएका मुद्दा पुनरावलोकनजस्ता मागहरू कानूनी प्रश्न भएकाले कानूनअनुसार नै सम्बोधन गर्नुपर्ने खालका रहेको पनि कोइरालाले बताए । यसअघि शान्तिवाटिकास्थित मिटरब्याजी पीडितहरू रहेको स्थानमा पुगेर आइतवार पहिलो चरणको वार्ता गरिएको थियो । दोस्रो वार्ता भने गृह मन्त्रालयमा भएको थियो । 

यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते ५ बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित संघर्ष समितिले ६ बुँदे माग राखेका छन् । उनीहरूले १८ जिल्लाका संयोजक रहने गरी १९ जनाको सोमवारै वार्ता टोली गठन गरेका छन् ।

मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरू विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागारमा रहेकाहरूको रिहाइ, बैंकिङ कसूरका मुद्दा खारेज तथा मिटरब्याजीहरूको सम्पत्ति छानबिन लगायतको माग आफूहरूको रहेको संघर्ष समितिका संयोजक अवदेश कुशवाहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्