२४ असार २०८३, बुधबार

वनमाराले ढाकिए ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन

वनमाराले ढाकिए ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन
प्रतिकात्मक तस्वीर

युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् ।

गाउँ सुनसान छन्, गाउँमा बस्ने पनि रोजगार र सेवासुविधा खोज्दै बजार झरिरहेका छन् । गाउँघरमा कुनै अवसर नदेखेर विदेश पलायन हुने तथा बजार झर्नेलाई अहिलेसम्म गाउँमै रोक्न कुनै पनि निकायले सकेका छैनन् ।

बागलुङको तमानखोला गाउँपालिकाले भने यस वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई गाउँमै रोकी आयआर्जनसँग जोड्न फलफूल खेती गर्न थालेको छ ।

गाउँपालिकाले यस वर्षदेखि बाँझो तथा खाली जमिनमा फलफूल खेती गर्न शुरू गरेको हो । चालू आर्थिक वर्षमा वडा नम्बर ४ मा १ हजार ५०० फलफूलका बिरुवा लगाइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए । थोरै मेहनतबाट राम्रो उत्पादन दिने ओखर, स्याउ, उन्नत प्रजातिका आरु र किवीका बिरुवा लगाइएको उनको भनाइ छ । पालिकाले कृषकलाई फलफूल खेतीतर्फ आकर्षित गर्ने गरी ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा उपलब्ध गराएको अध्यक्ष बुढामगरले बताए ।

खासगरी बसाइँसराइँ रोक्न र गाउँमै रोजगार सिर्जना गर्नका लागि गाउँपालिकाले यो अभियान शुरू गरेको उनको भनाइ छ । अध्यक्ष बुढामगर भन्छन्, ‘यस वर्षदेखि बाँझो जमिनलाई उपयोग गर्ने गरी फलफूलका बिरुवा लगाइएको छ, वडा नम्बर ४ बाट शुरू गरेका छौं, अर्को वर्षदेखि पालिकाभरि नै लगाउने योजना छ, आफ्नो बारीमा लगाउने कृषकलाई ५० प्रतिशत अनुदानमा बिरुवा दिइएको छ, यसको प्रतिफल आउन केही वर्ष लाग्न सक्छ तर यसले स्थानीयको वातावरणलाई स्वच्छ राख्न समेत मद्दत पुग्ने छ ।’

व्यवसाय दर्ता गरेर कृषि कर्म गरिरहेका ४० कृषकले फलफूलका बिरुवा व्यावसायिक रूपमा उत्पादन गर्ने गरी बारीमा लगाएको अध्यक्ष बुढामगरको भनाइ छ । कृषि प्राविधिकद्वारा माटो परीक्षण गरी बाँझो जमिनमा बिरुवा लगाइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्