
कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ)को सफल नेतृत्व गरेका पूर्वअध्यक्ष नवराज कुँवर नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
मंगलवार काठमाडौंमा शुरु महासंघको निर्वाचनमा क्यान महासंघबाट निवर्तमान अध्यक्ष कुँवरले वस्तुगत संघहरूको तर्फबाट उम्मेदवारी दिएका हुन् ।
सूचना तथा सञ्चारलाई सबैको पहुँचयुक्त र क्रयशक्ति योग्य बनाउने लगायत १८ बुँदे योजनासहित क्यान महासंघले कुँवरलाई अगाडि सारेको हो । डिजिटल साक्षरता बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायत अन्य पेमेण्ट भेण्डर तथा अनलाइन व्यवसायसँग समन्वय र सहकार्य गर्ने कुँवरको अवधारणामा उल्लेख छ ।
‘आईसीटी सेवा तथा व्यवसायलाई सम्बोधन गर्ने गरी डिजिटल साक्षरता बढाउन र त्यसमा सरकारलाई परामर्श दिन नेपाल उद्योग वाणिज्य महासंघको सहभागितालाई अझ प्रभावकारी र नतिजा मूलक बनाउने योजना छ’ कुँवरले भने ।
नेपालमा डिजिटल अर्थतन्त्रको भविष्य र अर्थसामाजिक संभावना बारेको रोडम्यापबारे भिजन निर्माण गर्ने पनि आफ्नो योजना रहेको उनले बताए ।