
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताएका छन्।
मंगलवार उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैंक ब्याजदर कम गर्ने र राजश्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगसँग आफू छलफलमा रहेको जानकारी दिए।
सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको उनको भनाइ थियो।
आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहित योजना समावेश गरिने पनि उनले बताए।
सरकारले पछिल्लो अर्थतन्त्र सुधारका लागि सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको भन्दै उनले सरकारले राजश्व संकलन, रेमिट्यान्स र अन्य अर्थतन्त्रका सूचकहरूलाई कसरी चलायमान बनाउने भन्नेबारे जोड दिइरहेको दाबी गरे।
प्रधानमन्त्री दाहालले आफूले सरकार सञ्चालन गरेको तीन महिनामा विदेशी मुद्राको सञ्चिति उत्साहजनक हुँदै गएको र झन्डै ११ महिना पुग्ने विदेशी सञ्चिति अहिले देशसँग रहेको जानकारी दिए।
‘अलि अफ्ठ्यारो परेकै हो तर अब परिस्थिति फेरिएको छ । हामीले अब सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउन, गति दिन तरलताको समस्या भनेका छौँ त्यसलाई, राजश्व संकलनको स्थितिलाई, रेमिट्यान्सको स्थितिलाई र अन्य अर्थतन्त्रका सूचकहरूलाई कसरी समाधान गर्ने भन्नेमा निकै बढी जोड गरिएको छ र तीन महिनाको गएको अवधिमा सन्तोष गर्ने ठाउँ के छ भने विदेशी मुद्राको सञ्चिति सन्तोषजनक मात्रै होइन, बिस्तारै उत्साहजनक छ,' प्रधानमन्त्री प्रचण्डले भने।
प्रधानमन्त्री प्रचण्डले लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका लागि सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
उहाँले कृषिको उत्पादन पछिल्लो समय घटेको र कृषिजन्य सामग्री नेपालमा धेरै आयात हुँदै जानु दुःखद् भएको बताए।
उनले सरकार आगामी आर्थिक वर्षको बजेट तथा नीति निर्माणमा केही ठूला, नयाँ र गुणात्मक योजना अघि बढाउने तयारीमा रहेको पनि बताए।