०९ असार २०८३, मंगलबार

रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न सकेन : अध्यक्ष गोल्यान

रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न सकेन : अध्यक्ष गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न नसकेको बताएका छन् ।

सिबिफिनद्वारा मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोल्यानले बैंकमा पर्याप्त रकम भए पनि कर्मचारीको मनोवल खस्किएको र लगानी डुब्ने डरले नयाँ लगानी गर्न वित्तीय संस्थाहरू डराइरहेका बताए ।

‘अहिले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको मनोबल खस्किएको छ । लगानी डुब्ने डरले लगानी गर्न डराइरहेका छन् । संगठित हिसाबले ऋण नतिर्ने वातावरण सिर्जना गरिरहेका छन्, यो गलत हो भन्ने कुरा मिडियाले पनि उठाइदिनुपर्ने अवस्था आएको छ । यसैका लागि पनि हामी यो पत्रकार सम्मेलन गर्न बाध्य भएका छौं,’ अध्यक्ष गोल्यानले भने, ‘उत्पादनमूलक क्षेत्रमा गरिने लगानीमा लिइने ब्याजदर अनुत्पादक क्षेत्रमा गरिने लगानीमा लिइनेभन्दा २ देखि ५ प्रतिशत कम हुनुपर्छ । अहिले आयात बढेर विलासिता वस्तु खरिदमा रकम बाहिरिने डरले ब्याजदर घटाउन डराउनुपरेको हो तर ब्याजदर बढी हुँदा बैंकमा पैसा बढी थुप्रिने भयो । अनि अर्कोतर्फ व्यवसायीले अहिलेको ब्याजदर धन्न सक्ने अवस्था छैन । त्यसकारण पनि ब्याजदर घट्नु अनिवार्य छ ।’

उनले साना जलविद्युत्मा आधारित ऊर्जा क्षेत्रमा बैंकिङ क्षेत्रबाट २ खर्ब लगानी भएको बताउँदै अब आर्थिक समृद्धिमा जोड दिन हाम्रो सम्भावनालाई ध्यान दिएर नीति–निर्माण गरिनुपर्नेमा जोड दिए ।

सिबिफिनका सचिव पुष्पशरण मल्लिकले ब्याजदर कम राख्नका लागि बैंक तथा वित्तीय संस्थाले १ वर्षभन्दा कमको मुद्दति बचतलाई निरुत्साहित गर्नुपर्ने बताए । ‘ब्याजदर कम कायम गर्न लागत कम हुनुपर्छ । यसका लागि १ वर्षभन्दा कम अवधिको मुद्दति बचतलाई निरुत्साहित गर्नु आवश्यक छ,’ मल्लिकले भने । 

सिबिफिनका कार्यसमिति सदस्य महेन्द्रकुमार गोल्यानले विदेशी मुद्रा सञ्चिति घट्दा तरलता अभाव, तरलता अभाव हुँदा ब्याजदर बढ्ने बताए । उनले अहिले आन्तरिक र बाह्य समस्याका कारण तरलता अभाव भएको बताउँदै सरकारले निजी क्षेत्रको महत्त्वपूर्ण भूमिकालाई आत्मसाथ गरेर समस्या समाधानमा लाग्नुपर्ने बताए ।

सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष गोल्यानले अहिले उद्योगले ऋणको ब्याज तिर्न नसकिरहेको र निरन्तर यही ब्याजदर धान्न नसकिने भएकाले वैशाखदेखि नै ब्याजदर घटाइनुपर्ने बताए । उनले चाहिनेभन्दा बढी लगानी सिमेन्ट र डन्डीका क्षेत्रमा लगानी भएको बताउँदै अब अन्य क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्