
मोरङ प्रहरीले मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने २ जना भारतीय नागरिक समेत छन् ।
मोरङ र सप्तरी जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने संगठित गिरोहका २ जना भारतीयसहित ६ जनालाई चोरी आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
मोटरसाइकल चोरीको आरोपमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ का १८ वर्षीय राजकुमार यादव, भारतको अररिया लक्ष्मीपुर–१० बस्ने २५ वर्षीय सुशीलकुमार यादव, सोही ठाउँका २५ वर्षीय सौरभकुमार यादव, विराटनगर महानगरपालिका दिनेश साह, सोही ठाउँका सञ्जय साह र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का २० वर्षीय सुमनकुमार यादवलाई पक्राउ गरिएको डीएसपी दाहालले बताए ।
प्रहरीले उनीहरूको साथबाट चोरीको ५ थान मोटरसाइकल र चोरीमा प्रयोग गरिने मास्टर चाबी पनि बरामद गरेको छ ।
२०७९ फागुन १० गते विराटनगर–७ मालपोत कार्यालय अगाडिबाट बेलबारी नगरपालिका–४ बस्ने ६० वर्षीय बमबहादुर खवासले पार्किङ गरी राखेको को२५प १९४५ नम्बरको मोटरसाइकल चोरी भएको थियो । चैत २४ गते विराटनगर महानगरपालिका–१६ जोगवनीबाट सप्तरीको कञ्चनपुर बस्ने केशवप्रसाद गुप्ताले पार्किङ गरी राखेको प्रदेश नम्बर २–०२–००३ प ५२५९ को मोटरसाइकल चोरी भएको थियो ।
माघ २१ गते विराटनगर महानगरपालिका–२ सेन्ट्रल महलको पार्किङ स्थलमा विराटनगर–४ कञ्चनबारी बस्ने सुरेन्द्र कार्कीले पार्किङ गरिराखेको को२७प ६९४९ नम्बरको स्कुटर चोरी भएको थियो । मोटरसाइकल बरामद र चोरीमा संलग्न व्यक्ति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चोरी गरेका मोटरसाइकलहरू पहाडी जिल्लाका दुर्गम स्थान र सुनसरी जिल्लाका ग्रामीण क्षेत्र हुँदै भारतका विभिन्न स्थानमा पुर्याई बिक्री वितरण गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । चोरी गरेका मोटरसाइकल नेपाल–भारत सीमा हुँदै अवैध मदिरा ओसारपसार तथा लागूऔषध ओसारपसार गर्न र मोटरसाइकलका इन्जिनहरू पानी तान्ने मोटरको रूपमा प्रयोग गर्ने गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
धेरैजसो विराटनगरबाट हराएका मोटरसाइकलहरू धनकुटा लगायतका पहाडी जिल्लाका ग्रामीण बस्तीमा पुग्ने गरेका प्रहरीले जनाएको छ ।