
प्रदेश नामकरणको आन्दोलनबारे राप्रपा अध्यक्ष कमल थापाले संवेदनशील बन्न आग्रह गरेका छन्।
प्रदेश १ को नाम 'कोशी' राखिएको प्रति थापाले किरात तथा लिम्बूहरूलाई सम्बोधन गर्दै किरात र लिम्बूहरूको पहिचान नै सकिएपछि प्रदेशको नामकरणको अर्थ नै के रहन्छ भनी प्रश्न गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्- कोशी प्रदेश नामकरणको विरोधमा केही किराती नेता र संस्थाहरूले चलाइरहनुभएको आन्दोलनप्रति मेरो कुनै टिप्पणी छैन। त्यो उहाँहरूको संविधानप्रदत्त अधिकार हो। तर, उहाँहरूसँग मेरो अनुरोध छ, उहाँहरूले खोजिरहेको पहिचानको आधार विस्तारै खस्कँदै गएकोबारे समेत जानकारी वा चेतना राखिदिनुभए बेश हुने थियो।
केही वर्षयता योजनाबद्ध र संगठित धर्मपरिवर्तनको डढेलोको सबैभन्दा बढी नकरात्मक प्रभाव किरात समुदायमा परेको भन्दै उनले यस्तो संवेदनशील विषयमा दल, संसद, सरकार र धार्मिक सांस्कृतिक संस्थाहरूको गम्भीर ध्यान नगएको पनि बताए।