
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्सा शास्त्रअन्तर्गत विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छन् ।
आइतवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतको आदेश, ऐन, कानून र नियमावलीको मर्म र भावनाविपरीत राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गरेकी हुन् ।
सरकारले बढी अंक ल्याएका विद्यार्थीहरूलाई छात्रवृत्ति पनि नदिने, रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेस प्रणालीमा म्याचिङ गरी सो तहको विद्यार्थी भर्ना अभियान अघि बढाउन उनले सरकारलाई सुझाव दिइन् ।
सांसद् कार्कीले भनिन्, ‘चिकित्सा शिक्षा आयोग पछिल्लो समयमा विचलित भएजस्तो देखिन्छ । स्नातकोत्तर तर्फको विद्यार्थी भर्नामा म्याचिङ प्रणालीमा योग्यता क्रम मिचिएको छ । अदालतबाट उचित आदेश प्राप्त भयो । तर पनि भर्ना प्रक्रिया सच्याइएको छैन । राष्ट्रिय चिकित्सा ऐन २०७५ को परिच्छेद ६ को दफा १६, १७ र राष्ट्रिय चिकित्सा नियमावली २०७७ को परिच्छेद ५ को दफा १८ र २० मा यो योग्यताक्रम अनुसारको भर्नाको स्पष्ट व्यवस्था छ । एकीकृत प्रवेश परीक्षाको मूल मर्म नै जान्नेलाई छान्ने हो । तर, यहाँ यसपटकको त्रुटिपूर्ण कार्यविधिले कम अंक ल्याउने विद्यार्थीले छात्रवृत्ति पाउने, रोजेको विषय र शिक्षण संस्था पाउने तर बढी अंक ल्याउने विद्यार्थीले भने छात्रवृत्ति पनि नपाउने, शिक्षण संस्था र विषय पनि रोज्न नपाउने अवस्था सिर्जना भएको छ ।'
सांसद कार्कीले सरकारले जेहेन्दार विद्यार्थीहरूमाथि कुठाराघात गर्ने र स्वास्थ्य संस्थाहरूलाई थप क्षति हुने कुनै पनि खालको काम गर्न नहुने समेत स्पष्ट पारिन् ।