मुगुमा पहिलोपटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ ।
यसअघि परम्परा, धर्म, संस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलोपटक अदालतमार्फत कानूनी प्रक्रिया पूरा गरी विवाह भएको हो ।
सोरु गाँउपालिका–७ सिपगाउँका ७० वर्षीय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाउँकी ४२ वर्षीया जानकी रोकायाबीच आइतवार जिल्ला अदालत मुगुमा विवाह भएको हो ।
आफूहरूबीच २८ वर्षको फरक भए पनि कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले दिइन् ।
विवाहको कानूनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार बर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गरे । न्यायाधीश बर्देवाले जिल्लामा पहिलोपटक अदालती विवाह भएको जानकारी दिए ।
काफ्लेकी श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमानसँग सम्बन्धविच्छेद गरेकी थिइन् ।
दुवैजनाको सहमति र साक्षीहरूको उपस्थितिमा अदालती विवाह सम्पन्न भएको जिल्ला अदालत मुगुका श्रेष्तेदार गोविन्द आचार्यले बताए ।
सत्तरी वर्षको उमेरमा अदालती विवाह गरेपछि गमगढी बजारमा नयाँ जोडी हेर्नेको भीड लागेको थियो ।