
हाम्रो पात्रो अन्तर्गतका हाम्रो पे र हाम्रो रेमिट दुवै सेवा एकआपसमा जोडिएका छन् ।
यससँगै नयाँ वर्ष २०८० वैशाख १ गतेदेखि हाम्रो रेमिटबाट पठाएको रेमिट्यान्स हाम्रो पे वालेटमा प्राप्त गर्न सकिने भएको छ ।
हाम्रो पात्रो रेमिटबाट हाम्रो पेमा पैसा पठाउँदा वालेटमा १०० रुपैयाँ बोनस पाइनेछ भने यो अफर वैशाख ७ गतेसम्म मान्य हुनेछ ।
२०२१ सेप्टेम्बरमा शुरू भएको हाम्रो रेमिटको सहयोगमा हाल अमेरिकाबाट नेपालमा पैसा पठाउन सकिन्छ । अब आउँदो मे महिनादेखि अस्ट्रेलियामा रहेका नेपालीले समेत हाम्रो रेमिटको सेवा प्रयोग गर्न पाउनेछन् ।
हाम्रो पात्रोका अनुसार अमेरिकामा रहेका नेपालीले कार्ड प्रयोग गरी हाम्रो पात्रोमार्फत पैसा पठाएको खण्डमा आधा घण्टाभित्रै हाम्रो पेको वालेटमा जम्मा हुनेछ । अन्य रेमिट्यान्स कम्पनीबाट पठाएको पैसा समेत यसैगरी हाम्रो पेमार्फत प्राप्त गर्न सकिने व्यवस्था मिलाउने कार्य चलिरहेको छ ।
गत फागुन ५ गते सार्वजनिक भएको हाम्रो पे डिजिटल वालेट हाम्रो पात्रोको एपमै उपलब्ध छ । यसको छुट्टै मोबाइल एप छैन ।
‘सुपर एप बनाउने उद्देश्यका साथ विभिन्न सेवाहरूलाई हाम्रो पात्रोमै जोड्दै लगिरहेको हो । हाम्रो पेमा मोबाइल टपअप, नेपाल पे क्यूआरमा जोडिएका मर्चेन्टको भुक्तानी, विद्युत्, खानेपानी, टीभी तथा इन्टरनेटको बिल भुक्तानी लगायतका सुविधाहरू रहेका छन्,’ हाम्रो पात्रोले भनेको छ ।
मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आईपीएसबाट सहजै रकम लोड गर्न सकिने हाम्रो पात्रो एपमा साथीहरूसँग मिलेर बिल तिर्न मिल्ने ‘स्प्लिट मनी’, सापटी माग्न सकिने ‘आस्क मनी’का साथै अंग्रेजी र नेपालीसहित विभिन्न ६ वटा भाषामा प्रयोग गर्न सकिने फिचर समेत रहेका छन् ।
यसबाहेक हाम्रो पेमार्फत भएको खर्च ट्रयाक गर्न र कुन शीर्षकमा कति रकम खर्च भयो भन्ने कुराको विश्लेषण गर्न, खर्चको सीमा तय गर्न पनि सकिन्छ । कम्पनीले ग्राहकको सहजताका लागि लाइभ च्याट सपोर्टको व्यवस्था समेत गरेको छ ।