
जिल्लाको उत्तर पश्चिमी भेगमा सञ्चालित सिन्धु हेलम्बु यातायातले भाडादर असुलीमा अनियमितता गरेको जनगुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चासो बढाएको छ ।
प्रशासनले आज यातायात प्रालिका पदाधिकारी, उपभोक्ता, स्थानीय सरकारको प्रतिनिधि, सञ्चारकर्मी र सरोकारवालाहरूको संयुक्त भेला गराई मापदण्डविपरीत भाडा असुली गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको संयोजकत्वमा बसेको सर्वपक्षीय भेलाले हेलम्बु यातायात प्रालिले समस्याको समाधान गर्ने र त्यसको नियमन तथा कारबाहीका लागि सम्बन्धित ट्राफिक प्रहरीले गर्ने निर्णय गरेको छ ।
काठमाडौँदेखि मेलम्ची, हेलम्बु क्षेत्रलगायतको सिन्धुपाल्चोकको उत्तरी पश्चिमी भेगमा सञ्चालित यातायात कम्पनीले एक साताभित्र नै सार्वजनिक स्थलमा भाडादरको बोर्ड बनाई टाँस गर्ने र अनिवार्यरूपमा सबै सवारी साधनभित्र यात्रुले देखिने गरी भाडादर टाँस गर्ने व्यस्था गर्नुपर्ने पनि निर्णय गरेको छ ।