
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तनहुँ १ मा १० वैशाखमा हुने उपनिर्वाचन जिते गोविन्द भट्टराईलाई मन्त्री बनाउने बताएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस उम्मेदवार भट्टराईले जिते मन्त्री बनाउने आश्वासन दिएका हुन् ।
यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने बताएको उल्लेख गर्दै त्यो भन्दा पनि ठूलो पदमा पुर्याएको दाबी उनले गरे ।
‘केन्द्रमै हाम्रो गठबन्धन सरकार छ । हामी निरन्तर गठबन्धनको सरकार अगाडि बढाउँछौं,’ डुम्रेमा आयोजित चुनावी सभामा प्रचण्डले भने, ‘गोविन्द भट्टराईलाई यो क्षेत्रबाट जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई सम्बोधन गर्दै उहाँलाई मन्त्री बनाउँछौं ।’
अब आफ्नो ध्यान देशमा शान्ति, सुशासन र समृद्धिको बाटोमा हिँडाउने रहेको पनि उनको भनाइ थियो ।