२८ असार २०८३, आइतबार

आज जितगढी विजयी उत्सव : नेपालले अंग्रेजलाई पराजित गरेको दिन

बैशाख ७, २०८०
आज जितगढी विजयी उत्सव : नेपालले अंग्रेजलाई पराजित गरेको दिन

जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा आज बिहीवार जितगढी उत्सव मनाइँदैछ ।

विक्रम संवत् १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जीत हासिल गरेको थियो । सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउँदै आएको छ ।

जितगढी उत्सवका अवसरमा जितगढी उत्सव मूल समारोह, गोरखादेखि पैदल यात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गर्ने र पैदल यात्रा समापन गर्ने कार्यक्रम रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । 

उनले बिहान १० बजे पैदलयात्री टोलीलाई स्वागत गर्ने र यात्राको समापन गर्ने कार्यक्रम रहेको र दिउँसो १२ः३० बजे जितगढी किल्लामा मूल समारोहको कार्यक्रम रहेको बताए  । कार्यक्रममा एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलसहित जनप्रतिनिधि लगायतको उपस्थिति रहने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । 

नेपाल–अंग्रेज युद्धको पृष्ठभूमि र किल्ला 

२१ पुस १८७१ देखि १८७२ सम्म नेपाल–अंग्रेजका बीचमा युद्ध भए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जीत हात पार्न सकेको थिएन । कुमाउ–गडवाल (नाहान), मकवानपुरगढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो तर बुटवलमा भने नेपालले जीत हासिल गरेको थियो । 

जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो । 

पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो । युद्धमा अंग्रेज टोलीले ठूलो क्षति व्यहोरेर फिर्ता गएको थियो । जनरल उडकै नेतृत्वमा ३ महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे । आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे । यो लडाइँमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे । अंग्रेजतर्फ ठूलो क्षति भयो । 

पाल्पा–बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि ७ वैशाख १८७२ मा  विजय हासिल गर्‍यो । युद्धमा विजय हासिल गरेपछि उजिरसिंहले पाल्पामा विजयोत्सव मनाएका थिए ।  २०० वर्षअघिदेखि पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाइन्छ । जुन रणउजेश्वरी भगवती जात्राको नामले चिनिन्छ ।  

भाद्र कृष्ण अष्टमीको साँझ जाग्राम बसेर भजनकिर्तन गर्ने र मध्यरातमा भगवतीको पुजाआजा गरी रथलाई तयारी अवस्थामा राखिन्छ । नवमीका दिन पूजा सकेपछि साइत हेरेर रथलाई जय जयकारको गुञ्जन ध्वनिसहित ३ पटक मन्दिर घुमाइन्छ । दिउँसो बली दिएपछि रथलाई उठाउने चलन छ । रथलाई ३ पटक घुमाएर ‘कर्णेली पूजा’ दिएपछि मात्र नगर परिक्रमा गराइन्छ । रथलाई  मन्दिर परिक्रमा गराइ कर्णेल उजिरसिंहको सम्झनामा पूजा दिने चलन छ । 

यस्तो छ गढी 

५०० वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्बाइ २०५ फिट छ र चौडाइ करीब ५५ फिट रहेको छ । गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँगुरो हुँदै गएको छ । गढीको भित्री भागबाट पर्खालको उचाइ ४ फुट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाइ ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुला रहेको छ । करीब १२ लाखदेखि १५ लाख इँटा प्रयोग भएका र इँटाहरूका कोही १० इन्च वर्गाकारका तथा केही इँटाहरूको लम्बाइ, चौडाइ क्रमशः ८.६ इन्च, ६ इन्च वाई २ इन्च रहेको छ । गढीको निर्माण शैली भने अन्य प्राचीन गढीहरू जस्तै छ ।

गढीको वरिपरि युद्ध गर्नको सुविधाको लागि विभिन्न किसिमका चरहरूको निर्माण गरिएको छ ।  पुरातात्विक र ऐतिहासिक महत्त्व बोकेको यो गढी १६औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । तिनाउ नदीको दायाँ किनारमा अवस्थित गढीको नामाकरण उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाखी देखाइ यसै गढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकाले जितगढी भनिएको जनश्रुति रहेको छ ।

विक्रम संवत् २०५२ सालमा पुरातत्व विभागले देशभरका गढीहरू संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिँदा पुरिएको पर्खालको पेटी भेटिएको थियो । उजिरसिंहको समयभन्दा अघिदेखि नै गढीको अस्तित्व रहेको बताइए पनि यसको पुष्टि भने हुन सकेको छैन ।  आर्थिक वर्ष २०६९/०७० र ०७०/०७१ मा पुरातत्व विभागले २ पटक उत्खनन गरेको थियो । उत्खननका क्रममा जितगढी परिसरभित्र प्राचीनता झल्किने वस्तु भेटिए पनि परिसरबाहिर भने खासै प्राचीन वस्तु भेटिएनन् ।

यसअघि २०५८ सालमा पनि बुटवल उपमहानगरपालिकाले पुरातत्व विभागबाट उत्खनन गराएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्