
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास छिट्टै गर्ने दाबी गरेका छन् ।
बारा २ मा चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आवश्यक गृहकार्य भइरहेकोले छिट्टै शिलान्यास नै गर्ने दाबी गरेका हुन् ।
‘पोखरा विमानस्थल उद्घाटन गर्दा नै मैले निजगढ विमानस्थलको पनि कुरा गरेको थिएँ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘निजगढमा विमानस्थल बनाउनका लागि हामीले आवश्यक गृहकार्य गरिहरको छौं । अब यसको शिलान्यास पनि गर्छौ ।’
निजगढमा विमानस्थल बनेपछि गढिमाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बन्ने पनि दाबी गरे ।
सालका लाखौ रुख काट्नुपर्ने भएकोले विमानस्थल निर्माणको विषय विवादमा पर्दै आएको छ ।
यतिमात्रै होइन प्रचण्डले पटकपटक रोकिंदै आएको नागरिकता विधेयकलाईसमेत अघि बढाउने प्रष्ट्याए ।
प्रधानमन्त्रीले सत्ता गठबन्धनबाट बारा २ मा उम्मेदवार बनेका जसपाका उपेन्द्र यादवलाई जिताउन पनि अपिल गरे ।
जसपाबाट जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा १० वैशाखमा उपनिर्वाचन हुँदैछ । निर्वाचनमा यादवले जनमतका शिवचन्द्र कुशावाहा, रास्वपाका रमेश खरेल र एमालेका पुरुषोत्तम पौडेलसँग मुख्य प्रतिस्पर्धा गर्दैछन् ।
अन्तिम चुनावी सभामा भाग लिन सत्ता गठबन्धनका नेता तनहुँ, चितवन हुँदै बारा पुगेका हुन् ।