प्रतिव्यक्ति रु २८ हजारमा राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ठगी गरेको आरोपमा चन्द्रागिरि नगरपालिका–२ मगर गाउँका ३४ वर्षीय स्माइल स्टार पुनसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित श्री फ्रिया ट्राभल्स एन्ड टुर्स प्रालि सञ्चालन गर्ने पुनलगायतले रकम दिए राहदानी बनाइदिने भन्दै ठगी गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उक्त प्रालिमा खानतलासी गर्दा प्रहरीले कम्पनीबाट विभिन्न व्यक्तिका पाँच थान राहदानी, एक थान कम्युटर तथा अन्य महत्वपूर्ण कागजपत्र बरामद गरेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै वैदेशिक रोजगारका लागि ओमान पु¥याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका–६ घर भई काठमाडौँको गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बू र सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिकाको भैँसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङ रहेका छन् ।