
सुक्खायाम शुरू भएसँगै बागलुङको करीब ४५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । ५ राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो ।
गत माघ १८ गते पहिलोपटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठुरे राष्ट्रिय वनमा आगलागी भएको थियो । ४ दिनसम्म फैलिएको आगलागीले २०० हेक्टर वन क्षेत्र मासेको डिभिजन वन कार्यालय बागलुङको तथ्यांक छ ।
गत माघदेखि शुरू भएको आगलागीको शृंखला रोकिएको छैन । बस्ती नजिकैका सामुदायिक तथा निजी आवादी वन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताए । जानीजानी वा दुर्घटनावश बिहीवारसम्म बागलुङका २२ वनमा डढेलो लागेको तथ्यांक छ । केही तथ्यांक भने आउनै बाँकी छ ।
यस वर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका वनमा भएको छ । बागलुङ नगरपालिकाका ६ सामुदायिक वन र एक ठाउँमा राष्ट्रिय वन क्षेत्रमा आगलागी भएको हो । जैमिनी नगरपालिकाका ५, बडिगाडका ३, काठेखोलाका २ र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकाको १/१ वनमा आगलागी भएको छ ।
जिल्लामा १ लाख ५ हजार ५०१ हेक्टर जमिनमा वन फैलिएको छ । जिल्लाभर ५२७ सामुदायिक वन ३३ हजार ९०९ हेक्टरमा फैलिएका छन् भने ८ दर्ता भएका निजी र बाँकी राष्ट्रिय वन क्षेत्र रहेको सहायक वन अधिकृत मदन कँडेलले बताए ।
गत वर्ष हिउँदमा वर्षा हुँदा बागलुङका वन क्षेत्रमा आगलागी भएको थिएन । एकाध वन क्षेत्रमा लागेको आगोसमेत समयमै स्थानीयले नियन्त्रणमा लिएका थिए । यस वर्ष हिउँद सुक्खा हुँदा अधिकांश वन क्षेत्र आगलागीको जोखिममा परेको वन अधिकृत अधिकारीले बताए । वर्षा नभएसम्म बाँकी रहेका वन क्षेत्र समेत आगलागीको जोखिममा छन् ।