
पृथ्वी दिवस आज नेपाल पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसर पारेर आज ललितपुरमा साइकल ¥याली गरिएको थियो । नेपाल युएस एलमुनाइ नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार क्षेत्रदेखि लुभुको महालक्ष्मी मन्दिरसम्म साइकल ¥याली गरिएको थियो ।
¥यालीको शुभारम्भमा बोल्दै नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्पसनले कार्यक्रममार्फत नेपाली समुदायसँग सहकार्य गर्न पाएकामा खुसी लागेको बताए ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले साइकल ¥यालीले ‘स्मार्ट सिटी’ बनाउने महानगरको अभियानलाई सहयोग पुग्ने बताए ।
अमेरिकी राजदूतावसको सहयोगमा नुसान र आइएसएसआरको संयुक्त कार्यक्रमका लागि ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाले समन्वय गरेका हुन् । आज विश्वभर विभिन्न कार्यक्रमका साथ पृथ्वी दिवस मनाएको छ । हरेक २२ अप्रिलका दिन १९२ भन्दा बढी राष्ट्रमा पृथ्वी दिवस मनाइन्छ । पृथ्वीको पर्यावरणका बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको यो एउटा महत्वपूर्ण दिवस हो ।