
तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ ।
बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले केवलकार निर्माण गरिरहेको हो ।
लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिए । उनका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ ।
‘अब डबल सिफ्टमा कामलाई तीव्रता दिन्छौं, २ वटा सामान बोक्ने र ६ वटा रेस्ट्रो क्याबिन आउन बाँकी छ,’ उनले भने ।
केबलकारको परीक्षण आगामी वैशाख २५ गतेदेखि शुरू गर्ने तयारी छ । ‘केबलकारका टावर, तार सबै जोडिसकिएको छ, डिब्बा जडानको काम अब दु्रतगतिमा अगाडि बढ्छ,’ उनले भने । केबलकारभित्रै रेस्टुरेन्ट सञ्चालनको तयारी समेत गरिएको छ । साँझ ५ बजेपछि केबलकारभित्रै रेस्टुरेन्ट सञ्चालन हुनेछ ।
‘केबलकारभित्र रेस्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौं,’ अध्यक्ष शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेसनमा रेस्टुरेन्ट हुने भएकाले रेस्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ ।
विक्रम संवत् २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो । विक्रम संवत् २०८० मंसिरभित्र पाँचतारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । जेठभित्र भ्यूजरुम, असारभित्र वाक्स म्युजियम, साउनभित्र जीपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेस्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँचतारे होटलको निर्माण पनि तीव्रगतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटल सहितको केबलकारमा लगानी वृद्धि भएको छ ।
केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर २ अर्ब ६० करोड पुगेको छ । यसअघि केबलकारको क्षमता प्रतिघन्टा ३०० रहेकोमा त्यसलाई बढाएर ५०० पुर्याइएको छ । होटलको कोठा संख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्याइएको छ । १० तल्लाको होटल सहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ । होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको छ ।