०९ साउन २०८३, शनिबार

पर्यटकीय क्षेत्र ‘कौडे लेक’ पुग्न पदमार्ग

बैशाख १०, २०८०
पर्यटकीय क्षेत्र ‘कौडे लेक’ पुग्न पदमार्ग

सिग्दी गाउँको शिरमा छ कौडे लेक । प्राकृतिक सुन्दरताले भरिपूर्ण सो लेक ओझेलमा थियो । बरेङ बजारबाट पदमार्ग हुँदै पुग्न सकिने यस लेक २ हजार ६०० मिटरको उचाइमा छ ।

बागलुङको बरेङ गाउँपालिका–२ मा पर्ने कौडे लेक बरेङ बजारबाट सिग्दी गाउँ हुँदै वनजंगल र भिरपहरा छिचोल्दै यहाँ पुग्न सकिन्छ । यस लेकमा दैनिकजसो सिग्दी गाउँका स्थानीय घाँसदाउरा गर्न पुग्ने गर्छन् । 

पछिल्लो समय पदमार्ग निर्माण भएपछि आन्तरिक पर्यटक समेत लेकमा पुग्न थालेका छन् । गाउँपालिकाले सिग्दी गाउँबाट करीब ३ किलोमिटर पदमार्ग निर्माण गरेको छ ।  पदमार्गले पर्यटक आकर्षित गर्नुका साथै स्थानीयलाई समेत सहज बनाइदिएको छ ।

सूर्योदय र अनेकौं दृश्यावलोक गर्न पर्यटक यहाँ पुग्ने गरेका छन् । बागलुङ र गुल्मी जिल्लाको संगमस्थल समेत रहेको कौडेलाई प्रवद्र्धनका लागि बरेङ गाउँपालिकाले प्राथमिकता दिएको छ । गाउँपालिकाले पदमार्गको छेउछाउमा पर्यटक विश्रामका लागि चौपारीसमेत निर्माण गरेको छ भने वन्यजन्तुलाई खानेपानीका लागि पोखरी समेत बनाइदिएको छ । बाइसे–चौबिसे राज्यका बेला यहाँ भुरेटाकुरे राजाले राज गरेको इतिहास छ । 

अहिले पनि यहाँ दरबारका भग्नावशेष भेटिने गरेको स्थानीयको भनाइ छ । जिल्लाकै अग्लो पहाडमध्येमा पर्ने कौडे लेकलाई पर्यटकीय गन्तव्य बनाउनका लागि सुरुका वर्षदेखि बजेट विनियोजन गरेर पूर्वाधार निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । उनले अघिल्लो कार्यकालदेखि शुरू गरेको पदमार्ग निर्माणका काम सकिएको र यसको प्रचारप्रसारलाई जोड दिने जानकारी दिए । बरेङ बजारबाट साढे २ घण्टाको पैदलयात्रामा यहाँ पुग्न सकिन्छ ।
 
अध्यक्ष शर्मा भन्छन्, ‘कौडे लेक ऐतिहासिक ठाउँ हो, यो क्षेत्रकै सबैभन्दा अग्लो पहाड भएको र पर्यटकीय हिसाबले निकै उत्कृष्ट भएको हुँदा गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेर यसको विकासमा लागिरहेका छौं, अहिलेसम्म पदमार्ग, पाखरी, बगैंचा र चौपारी लगायतका संरचना बनाएका छौं, अझै पूर्वाधार बनाउनुपर्ने छ, रहेक वर्ष बजेट विनियोजन गरेर काम भएको छ, यस वर्ष पनि केही काम भएका छन् भने पदमार्गले गर्दा केही पर्यटक पनि आउने गरेको पाइएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्