
कर्णाली प्रदेश सरकारले १०० दिनको कार्यप्रगति सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले १०० दिन पूरा गरेको अवसरमा आइतवार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो ।
गत पुस २८ गते कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका शर्माको नेतृत्वमा भएका उपलब्धिलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।
मूलतः मन्त्रिपरिषद्का ८ बैठकबाट २७ निर्णय गरेको प्रदेश सरकारले गत वर्षको तुलनामा यस वर्षको दोस्रो चौमासिकसम्मको अवधिमा वित्तीय र भौतिक प्रगतिमा वृद्धि भएको उल्लेख गरेको छ ।
विक्रम संवत् २०७९ चैत मसान्तसम्म प्रदेश सरकारको कूल विनियोजित बजेटमध्ये चालूतर्फ ९२ दशमलव ९६ र पुँजीगततर्फ २२ दशमलव १२ प्रतिशत गरी जम्मा २६ दशमलव ४७ प्रतिशत प्रगति भएको सार्वजनिक उपलब्धिमा देखाइएको छ । कर्णाली प्रदेशमा प्रतिवर्ष १० हजार रोजगारी सिर्जना गर्ने सम्बन्धमा अध्ययन गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको संयोजकत्वमा बनेको कार्यदलबाट प्रतिवेदन प्राप्त भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
‘यसलाई कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई निर्देशित गरिनेछ,’ प्रवक्ता जिसीले भने, ‘यस सम्बन्धमा तत्काल कर्णाली प्रदेशका बेरोजगार व्यक्तिको तथ्यांक संकलनको कार्यका निम्ति सफ्टवयेर प्रणाली स्थापना गर्ने कार्य प्रारम्भ भएको छ ।’ उनका अनुसार प्रदेश सरकार स्थापना भएदेखि आर्थिक वर्ष २०७७/०७८ सम्मको महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण हुँदा कायम भएको बेरुजु रकम कर्णाली प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्नुका साथै बेरुजु अद्यावधिक गरिएको छ ।