०८ असार २०८३, सोमबार

काठमाडौं प्रहरी र बुढानिलकण्ठ नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर

बैशाख १२, २०८०
काठमाडौं प्रहरी र बुढानिलकण्ठ नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बुढानिलकण्ठ नगरपालिकाबीच बुढानिलकण्ठ नगरपालिकाको क्षेत्रभित्र शहरी सुव्यवस्थापनका लागि सीसीटीभी क्यामेरा जडान, सञ्चालन, मर्मतसम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

बुढानिलकण्ठ नगरपालिकाको कार्यालय हात्तीगौंडामा मंगलवार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली र बुढानिलकण्ठ नगरपालिकाको तर्फबाट नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गर्नुका साथै समझदारीपत्र आदानप्रदान समेत गरे । 

सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले सीसीटीभी जडानले घटित अपराधहरूको छिटोछरितो तवरबाट अनुसन्धान गर्न, चोरी, लुटपाट, सवारी दुर्घटना, छुटेका सामानको पहिचान लगायत विभिन्न आपराधिक घटनाको सफल अनुसन्धान गर्न तथा प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताए । आगामी दिनमा शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा नगरपालिकासँग थप सहकार्य गर्दै जाने उनले उल्लेख गरे ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सीसीटीभी जडानले विभिन्न विकृतिका कार्यहरूको पहिचान गर्न एवं नागरिकलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुग्ने बताए । सीसीटीभी जडानपश्चात त्यसको उचित रेखदेख र मर्मत सम्भार पनि हुनुपर्नेमा उनले जोड दिँदै आगामी दिनमा नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताए ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम आर्यालले सम्झौताको महत्त्व, प्रभावकारी उपयोग सम्बन्धी जानकारी दिए ।

बुढानिलकण्ठ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा सांस्कृतिक एवं सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालीन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सीसीटीभी जडानका लागि दुवै पक्षबीच सम्झौता भएको हो । बुढानिलकण्ठ नगरपालिकाको क्षेत्रभित्र सीसीटीभी जडानका लागि लागत ईस्टिमेट बमोजिम ५ करोड रूपैयाँको बोलपत्र आह्वान गरी चालू आर्थिक वर्ष २०७९/८० मा २ करोड ५० लाख विनियोजित रकम पेश्कीबापत उपत्यका प्रहरी कार्यालयलाई उपलब्ध हुने र ठेक्का सम्झौता बमोजिम हुने बाँकी रकम आगामी आर्थिक वर्ष २०८०/०८१ मा भुक्तानी हुने गरी बुढानिलकण्ठ नगरपालिकाले उपलब्ध गराउने समेत सम्झौतापत्रमा उल्लेख गरिएको छ । 

सीसीटीभी जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा उच्चतम प्रविधिको क्यामेरा प्रयोग गर्ने संख्या निर्धारण गरिने समेत सम्झौता–पत्रमा उल्लेख गरिएको छ । 

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका पदाधिकारीहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्