
तीन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आइतबार सम्पन्न मतदानको नतिजा सार्वजनिक भएको छ । बुधबार बिहान बारा–२ को समेत अन्तिम नतिजा सार्वजनिक भएसँगै उपनिर्वाचनको सबै मतगणना सम्पन्न भएको हो ।
नतिजाअनुसार बारा–२ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए भने चितवन–२ र तनहुँ–१ बाट क्रमशः रास्वपाका रवि लामिछाने र स्वर्णिम वाग्ले विजयी भए ।
उपनिर्वाचनबाट रास्वपाले चमत्कार गर्दा परम्परागत दल कांग्रेस र एमालेलाई झड्का लाग्न पुग्यो भने अर्को दल नेकपा माओवादीलाई उपनिर्वाचन हर्ष न बिस्मात बन्यो । अर्थात उपनिर्वाचनमा माओवादीले कहीँपनि उम्मेदवार उठाएको थिएन भने उसले बारामा जसपा तथा चितवन र तनहुँमा कांग्रेसका उम्मेदवारलाई सघाएको थियो ।
०६४ मा शान्तिपूर्ण राजनीतिमा आएपछि संसदीय निर्वाचनमा सहभागी हुँदै आएको माओवादी केन्द्र २०८० सम्म आइपुग्दा निरन्तर कमजोर बन्दै गएको निर्वाचनका नतिजाहरुले देखाउँछन् । अहिले संसदमा तेस्रो शक्ति रहेको माओवादी आफ्नै कार्यशैलीका कारण आरोलो यात्रामा रहेको टिप्पणी हुने गर्छ । गठबन्धनको राजनीतिको नाममा आफ्नो उम्मेदवार नउठाएको माओवादीले निर्वाचनमा जनाधार परीक्षण गराएन ।
यस्तै नतिजाले मंसिर ४ को निर्वाचनको तुलनामा उपनिर्वाचनमा कांग्रेस र एमालेको मत घटेको देखिन्छ, तनहुँमा त कांग्रेसको सिट नै रास्वपाले खोस्यो । यस्तै संसदको पाँचै शक्ति राप्रपाको पनि सबै क्षेत्रमा जमानत जफत भयो ।
बाराबाहेक रास्वपाको पक्षमा देखिएको जनलहरले अब परम्परागत दलहरुलाई चुनौती थपिएको विश्लेषण हुन थालेको छ । यही सामग्रीसहित ‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ, अब अन्य समाचार संक्षेपमाः
चितवन २ बाट दोस्रोपटक पनि शानदार मतले जितेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति नवनिर्वाचित सांसद रवि लामिछानेले आफूलाई सबैको प्यारो नेता हुने इच्छा भएको बताएका छन् ।
चुनावी सभालाई चितवनमा सम्बोधन गर्दै रविले आफूलाई मत दिने र नदिने सबैको प्रिय नेता बन्ने इच्छा भएको बताएका हुन् ।
००००
उपनिर्वाचनमा रवि लामिछानेसँग फराकिलो मतान्तरले पराजित भएका कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले अन्तर्घात नभइ पुराना दलमा नागरिकले परिवर्तन खोजेको बताएका छन् ।
रविलाई जितको बधाई दिँदै श्रेष्ठले आम जनताले पुराना दलमा परिवर्तन खोजेको र सच्चिनका लागि दबाब दिएको बताएका हुन् ।
००००
यसैगरी तनहुँ १ बाट विजयी स्वर्णिम वाल्लेले उच्चतम लोकतान्त्रिक अभ्यास गर्न पाएको भन्दै आफूप्रति देखाएको भरोसलाई डगमगाउन नदिने बताएका छन् ।
००००
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीकाअनुसार बैठक बैशाख २८ देखि ३० गतेसम्म झापामा सञ्चालन हुनेछ ।
००००
नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको जहाजको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएको भन्दै नेपाल प्रमुख र स्टेसन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।
प्राधिकरणले प्रमाण विना दुबईबाट गलत सूचना फैलाउने दुवै जनाको पास तत्कालका लागि रोक्का गरेको हो ।
प्राधिकरण सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार नयाँ निर्णय नभएसम्मका लागि उनीहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ ।
००००
कोरोना भाइरस संक्रमण पुनः बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार १ हजार ५९१ जनामा गरिएको परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको छ ।
००००
सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
००००
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएसँगै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।
यसअघि नै कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन हालेका थिए ।
मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै मुख्यमन्त्रीमा दाबी गर्दै ८ दलले यसरी निवेदन हालेका हुन् । तर, प्रदेश प्रमुखले मान्यता दिएका थिएनन् ।
प्रदेश प्रमुख शेरचनले मंगलबार संविधानसभा धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनको लागि आह्वान गरेसँगै अब प्रक्रियाअनुसार चौधरीले दाबी पेश गर्नेछन् ।
००००
सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार सम्पन्न खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । आर्मीको जितमा जिलेस्पी जङ्ग कार्कीले निर्णायक गोल गरे ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उनलाई पार्टीले निष्कासन गरेको जानकारीसहितको सूचना पढेर सुनाएसँगै उनी पदमुक्त बनेका हुन् ।
००००
नेकपा (एमाले)का सांसद रघुजी पन्तले संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दर्शन पाउन पनि दूर्लभ भएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले संसद्मा प्रधानमन्त्री प्रचण्डको अनुहार हेर्न पनि दूर्लभ भएको बताएका हुन् ।
००००
नेपाल स्टक एक्सचेञ्ज परिसूचक मंगलबार दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ को विन्दुमा पुगेको हो ।
आज दुई सय ६५ वटा कम्पनीको २७ लाख पाँच सय ७० कित्ता शेयर २७ हजार सात सय ६६ पटक खरिदबिक्री हुँदा रु ८८ करोड ५५ लाख ७८ हजार बराबरको कारोबार भएको छ ।
००००
सरकारले हरेक १० वर्षमा सवारी लाइसेन्स नवीकरणको व्यवस्था गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अब हरेक १० वर्षमा लाइसेन्स नवीकरण गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताएका हुन् ।
००००
राष्ट्रपतिको कार्यालयले भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ ।
राष्ट्रपतिको कार्यालयले मंगलबार एक विज्ञप्तिमार्फत् उनको उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको जानकारी दिएको हो ।