
मेलाको समापनका लागि तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
आठराई गाउँपालिकाले बुधवार सार्वजनिक बिदा दिएको हो ।
संक्रान्ति बजारमा सञ्चालन भइरहेको आठराई मदन मेलाको आज समापन गरिँदैछ । मेलाको समापन गर्ने दिन गाउँपालिकाले स्थानीय बिदा दिएको हो । वैशाख ७ गतेदेखि मेला शुरू भएको थियो ।
गाउँपालिकामा अध्यक्ष दिलकुमार पाहिमले बिदाको सार्वजनिक सूचना समेत आफैं जारी गरेका छन् । उनले जारी गरिएको सूचनामा गाउँ कार्यपालिका वडा कार्यालय तथा मातहतका सबै कार्यालयहरू, शैक्षिक संस्थाहरूमा बिदा दिएको जनाइएको छ ।
विक्रम संवत् २०१५ सालदेखि संक्रान्ति बजारमा मदन मेला लाग्दै आएको छ ।
ऐतिहासिक मेला भएकाले बिदा दिएको गाउँपालिकाका अध्यक्ष पाहिमले बताए । तत्कालीन समयमा पूर्व क्षेत्रकै पहिलो मेला भएको दाबी गर्ने गरिएको छ । स्व. मदन शम्शेर राणाको स्मृतिमा रानी जगदम्बा ट्रस्टको स्थापना भएको र त्यो ट्रस्टले खानेपानी, अस्पताल समेत निर्माण गरेको थियो ।
मदन शम्शेरकी कान्छी श्रीमती रानी जगदम्बा कुमारी देवीले श्रीमान्का नाममा ट्रस्ट स्थापना गरेकी थिइन् । रानी जगदम्बा कुमारी देवीले श्रीमान्को नाममा मेला पनि लगाइदिन भनेपछि मेला लाग्न थालेकाले यसलाई ऐतिहासिक भन्ने गरिएको गाउँपालिकाका उपाध्यक्ष बलिराज इङनामले बताए ।
मेलाको मुख्य आकर्षक फूटबल, भलिबल खेल हुन् भने धान नाच पालम लगायत सांस्कृतिक कार्यक्रम समेत हुने गरेका छन् ।
