
अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत् समाधान हुने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा बिहीबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उनले मौद्रिक नीतिमार्फत् ब्याजदर घटाइने बताएका हुन् ।
'अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्ने निजी क्षेत्र जानकार छ,' उनले भने, 'ब्याजदरका विषयमा मौद्रिक नीति खुकुलो गर्न जरुरी छ, यसका लागि नेपाल राष्ट्र बैंकलाई भनिसकेको छु ।' उनले राष्ट्र बैंकले यसलाई गम्भीररूपमा लिएको र छिट्टै एउटा निर्णयमा पुग्नेमा विश्वास व्यक्त गरे ।
राष्ट्र बैंकलाई स्वतन्त्ररूपमा काम गर्ने अधिकार भएको भन्दै उद्लेद एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिमा कसिकसाउ गरेको भए पनि अब भने खुकुलो गर्न जरुरी रहेको बताउ । उनले मौद्रिक नीतिमार्फत् बजारमा पुँजी प्रवाह आवश्यक रहेको बताए । 'ब्याजदरले अवश्य पनि समस्या सिर्जना गरेको छ । अब मौद्रिक नीतिमार्फत् पुँजी प्रवाह जरुरी छ', उनले भने, 'यसमार्फत् उद्योग व्यवसायलाई सहयोग पुग्नेछ ।' उनले अहिले पुँजीगत खर्च कम भएको भन्दै बढाउन आवश्यक रहेको बताए ।