
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुडान जाने टोलीलाई बिदाइ गरेका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा बिहीवार आयोजित एक कार्यक्रमकाबीच उनले शान्ति स्थापनार्थ एफपीयू मिसनमा जाने प्रहरी कर्मचारीहरूलाई बधाई दिँदै कार्य सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।
महानिरीक्षक अर्यालले विनाशलाई विकास र संघर्षलाई शान्तिमा बदल्ने ठूलो जिम्मेवारी बोकेर द्वन्द्वग्रस्त मुलुकमा सशस्त्र प्रहरीले चेन अफ कमाण्ड, अनुशासन र सामूहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम कानूनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वाससमेत व्यक्त गरे ।
संयुक्त राष्ट्रसंघीय मिसनमा रहँदा समग्र संगठन र राज्यले आर्जन गरेको छविलाई आँच आउन नदिने गरी जनताको अपेक्षा बमोजिम विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय तथा सहकार्य गरी मानव अधिकारको उच्च सम्मान गर्दै विश्व शान्ति स्थापनाको कार्यमा आ–आफ्नो ज्ञान, सिप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न उनले निर्देशन दिएका छन् ।
महानिरीक्षक अर्यालले एफपीयू मिसन छनोट निर्देशिका बनिसकेकोले अब १५ वर्ष सेवा अवधि पुगिसकेकाहरुले मात्र सहभागी हुन पाउने र सशस्त्र प्रहरी कर्मचरीहरुको त्याग, उर्जा समर्पण र जेष्ठताको समेत मूल्याङ्कन हुने बताए ।
मिसनमा जाने टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूले शुभकामना व्यक्त गरेका थिए ।
सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलोपटक लाइवेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा बन्द भएको हो । त्यसअघि दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । सो मिसनको पहिलो कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमान्ड सम्हालेका थिए । सो मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् ।
पछिल्लोपटक सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अफ्रिकी मुलुक माली मिसनको लागि १ सय ४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट भविष्यमा त्यसतर्फ प्रस्थान गर्नेछ ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक उद्धवबहादुर न्यौपानेको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३४ जना जुनियर अधिकृत र १ सय ३० विल्लादार जवानहरु गरी जम्मा १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरु बैशाख १६ गते साँझ त्यसतर्फ प्रस्थान गर्ने सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।