
कोभिड–१९ को महामारीका कारण नेपालमा सञ्चालनमा आएका धेरै उद्योग प्रभावित भएको तथ्यांकले देखाएको छ ।
कोभिड–१९ का कारण ४ महिना गरिएको बन्दाबन्दीका क्रममा ६३ प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएका छन् ।
यस अवधिमा २४ प्रतिशत उद्योग प्रतिष्ठान आंशिकरूपमा सञ्चालनमा रहेका र १३ प्रतिशत उद्योग पूर्णरूपमा सञ्चालनमा रहेका तथ्यांकले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालय र तथ्यांक कार्यालय चितवनले बिहीवार चितवनमा आयोजना गरेको अन्तर्राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सम्बन्धमा आयोजित अन्तक्र्रिया कार्यक्रममा तथ्यांक सार्वजनिक गरिएको हो । सो समयमा १७ प्रतिशत कामदारले बिनासुविधा आफूले गरिरहेको काम छाड्नुपरेको छ भने ६० प्रतिशत कामदारले बिनातलब सुविधा अस्थायीरूपमा कामबाट अलग हुनुपरेको कार्यक्रममा जानकारी दिइयो ।
यस्तै ११ प्रतिशत कामदारको तलब सुविधा आंशिकरूपमा कटौती भएको र बाँकी १२ प्रतिशतले निर्धारित समयभन्दा ढिला पाएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक राजेश धितालले जानकारी दिए । अहिले देशभर ६० हजार १८५ उद्योग प्रतिष्ठान सञ्चालनमा छन् । त्यसमध्ये खानी तथा उत्खनन क्षेत्रमा ३५६, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार ६११, विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ९९४, पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापका क्षेत्रमा २ हजार २२४ उद्योग प्रतिष्ठान रहेका छन् ।
नेपालमा सञ्चालनमा रहेका उद्योगमा ठूला उद्योग ५ हजार १७, साना उद्योग ५१ हजार ५९४ रहेको कार्यक्रममा जानकारी दिइयो । जनशक्तिका आधारमा उद्योगलाई वर्गीकरण गरिएको धितालले बताए । नेपालमा सञ्चालनमा रहेका उद्योगमा ३ लाख ८१ हजार ६८७ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । यी उद्योगमा तलब र ज्यालामा गरी १ खर्ब ७ अर्ब ८९ करोड खर्च गर्ने गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।