
गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने १ व्यक्तिलाई पक्राउ गरिएको छ ।
इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए ।
उनले वैशाख १० गते जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो । गुल्मी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आगजनीमा संलग्न बस्नेतमाथि अनुसन्धान थालिएको छ ।
लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीको १ करोडभन्दा बढी लगानीमा जडीबुटी उद्यान निर्माण गरिएको थियो । वन उद्यानमा रोपण गरिएका १०० भन्दा बढी विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ । आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो ।
वन ऐन २०७६ अनुसार वन क्षेत्रमा आगजनी गर्ने व्यक्तिलाई ६० हजार जरिवाना वा ३ वर्ष कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ । वन वातावरण संरक्षणजस्तो संवेदनशील विषयमा दोषीलाई कारबाही गर्न सहयोग गर्नुपर्नेमा राजनीतिक दलका स्थानीय प्रतिनिधिले वन मुद्दाको अनुसन्धान कार्यमा बाधा पुर्याउन खोजेको अधिकृत पङ्गेनीको आरोप छ ।