
ढोरपाटन शिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पुर्याउँदा हैरान छन् ।
बारीमा लगाएको आलु, फापर र तरकारी मात्रै होइन, घरमा रहेका स–साना बालबालिका र वृद्धवृद्धा बँदेलको आक्रमणमा पर्लान् भन्ने त्रास छ ।
शिकार आरक्षमा बँदेलको संख्या बढ्दो छ । वैधानिकरूपमा अनुमति लिएर बँदेलको शिकार गर्न पाइन्छ तर पछिल्लो ५ वर्षमा बँदेलको शिकार हुनसकेको छैन । आरक्षमा बँदेल शिकारीको रोजाइमा बँदेल परेन । नाउर, झारल, बँदेल, रतुवा र मृगको सिकार हुँदै आएको ढोरपाटनमा आर्थिक वर्ष २०७३/७४ पछि बँदेलको सिकार हुन नसकेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए ।
ढोरपाटनमा हरेक वर्ष असोज–कात्तिक र फागुन–वैशाखयाममा नाउर, झारल र बँदेल सिकारका लागि बोलपत्र आह्वान गरेर अनुमति दिइन्छ । हरेक वर्ष नाउर र झारलको सिकार भइरहे पनि बँदेलको शिकार शून्य रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।
ढोरपाटनमा गत आव २०७८/७९ देखि नाउर र झारलको सिकार गरे पनि बोनसको रूपमा बँदेलको सिकार गर्न रोक लगाएर छुट्टै अनुमति लिनुपर्ने व्यवस्था गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट यस वर्षको दोस्रो सिजनमा १२ नाउर, ९ झारल र ११ बँदेलको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिए पनि बँदेलको शिकारका लागि शिकारीले इच्छा नदेखाएका हुन् ।
कँडेलले यस वर्षको अघिल्लोयाम (असोज–कात्तिक)मा बोलपत्र स्वीकृत भए पनि २ नेपाली शिकार गर्न नआएको बताए । ‘अघिल्लोयाम बोलपत्र स्वीकृत भए पनि बँदेल शिकारका लागि शिकारी आएनन्,’ कँडेलले भने, ‘यस वर्ष बोलपत्र स्वीकृत नभएपछि सिकारी यस याममा पनि नआउने निश्चित देखिन्छ ।’
बँदेल शिकार रातिमा उत्तम रहेकाले पनि शिकारीले इच्छा नदेखाएको हुनसक्ने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।