०३ साउन २०८३, आइतबार

सरसर्ती २४ घण्टा : फरार सांसदको बिरामी बिदा अस्वीकृत, महावीर पुन आन्दोलनमा

बैशाख १६, २०८०
सरसर्ती २४ घण्टा : फरार सांसदको बिरामी बिदा अस्वीकृत, महावीर पुन आन्दोलनमा

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रतिनिधिसभाबाट एमालेका फरार सांसद लक्ष्मी कोइरी महतोको बिरामी बिदा अस्वीकृत भएको छ । कोइरीले आफू बिरामी भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएअनुसार सभामुखले शुक्रबारको पहिलो बैठकमा पढेर सुनाउँदै स्वीकृत गर्न लागेपछि विवाद भएको थियो । 

सो क्रममा एमालेबाहेकका सांसदहरुले होहल्ला गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुपरेको थियो । पछि दलहरु र सभामुखबीच भएको छलफलमा कोइरीको बिदा अस्वीकृत गर्ने समझदारी बनेपछि राति १० बजे बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुखले यसबारे जानकारी गराएका हुन् । 

लगातार १० बैठकमा अनुपस्थित हुने सांसदको जानकारी गराउने क्रममा सभामुख घिमिरेले विरामी परेर अनुपस्थित भएको बताएका थिए । 
त्यसपछि कांग्रेस, माओवादी र रास्वपाका सांसदहरू विरोधमा उभिएका थिए । सभामुखसँग समय लिएर रास्वपाका सभापति रवि लामिछानेले फरार अभियुक्तलाई विरामी भनिएकोमा आपत्ति जनाए । 

‘यो पेचिलो विषय हो, म गृहमन्त्री परेको बेला उहाँ फरार अभियुक्त हो । उहाँ भागेर जानु भएको ठाउँको बारेमा मलाई सूचना छ । सार्वजनिक गर्न नमिले पनि अनुसन्धान गर्ने निकायलाई दिन सक्छु । एउटा फरार व्यक्तिलाई विरामी करार गर्ने हो भने लोकतन्त्रका लागि मजाक हुन्छ । यो हास्यास्पद श्रृंखला बन्द गर्नुपर्छ’ लामिछानेले भने । 

राजनीतिका नाममा लाजनीति नचलाउन उनले आग्रह गरे । यस्तै कांग्रेसका रमेश लेखक, माओवादीका हितराज पाण्डेलगायतले पनि आपत्ति जनाएका थिए ।
००००
प्रतिनिधिसभाको शुक्रबारको बैठकले विषयगत १० समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख घिमिरले राखेको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले मनुमोदन गरेको हो ।
००००
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल उपचारको लागि भारत गएपछि कार्यवाहक राष्ट्रपति यादवले अधिवेशन शुक्रबारबाट अन्त्य गरेका हुन् ।
००००
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार तलब, भत्ता र पेन्सन खुवाउन नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेको छ ।
केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा पत्रकार सम्मेलन गर्दै उपमहासचिव विष्णु रिमालले राजनीतिक अस्थिरता निश्चित समयमा ट्रयाकमा आउने भए पनि मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको टिप्पणी गरेका हुन् ।
००००
राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकार समक्ष विभिन्न माग राख्दै माइतीघरमा धर्ना शुरु गरेका छन् । “अर्थतन्त्र सुधार नै हाम्रो माग हो”, उनले भने, “युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्छ ।”

पुनले अनुसन्धान, नवप्रर्वतन र अविष्कार तथा अनुसन्धानमा सहयोग गर्न संघ र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत रकम छुट्याउन र ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार कोष’मा उक्त रकम जम्मा गर्नुपर्ने माग गरे।
यसैबीच नेकपा एमालेका सांसद बासुदेव घिमिरेले राष्ट्रिय आविष्कार केन्द्रका पुनले राखेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमाले सांसद घिमिरेले अनुसन्धानको क्षेत्रमा महावीर पुनले गरेको योगदानको प्रसंशा गर्दै उनका माग पूरा गर्नुपर्ने बताएका हुन् ।
००००
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले चार महिनामा तीनपटक विश्वासको मत लिएका छन् । ४० सदस्यीय प्रदेशसभामा शर्माले शुक्रबार पुनः विश्वासको मत प्राप्त गरेका हुन् । 
उपस्थित ३९ सांसदमध्ये शर्माले २९ सांसदको समर्थन पाए । नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एस र स्वतन्त्रका एक÷एक सांसदले मतदान गरेका हुन् ।
००००
प्रधानन्यायाधीश नियुक्तिको माग राख्दै नेपाल बार एशोसिएशनले बैशाख १७ गतेदेखि दबाबमूलक अभियान संचालन गर्ने भएको छ । 
नेपाल बार एशोसिएशनकी महासचिव अञ्जिता खनालद्वारा जारी विज्ञप्तिमा बैशाख १७ गतेबाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संवैधानिक परिषद्का प्रमुख तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उल्लेख छ ।
००००
नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस भएका छन् ।
शुक्रवार बसेको बढुवा समितिको बैठकले १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
००००
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबादुर चौधरीले सोमबार विश्वासको मत लिने भएका छन् ।
सरकारलाई छिटो पूर्णता दिनेगरी तत्कालै विश्वासको मत लिने भएका हुन् ।

शुक्रबार पद तथा गोपनियताको शपथ पश्चात देउखुरीमा पदभार ग्रहणपश्चात बसेको मन्त्रिपरिषदको बैठकले सोमवार विश्वासको मत लिने निर्णय गरेको मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।
यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले शुक्रबार शपथ लिँदै मन्त्रिमण्डल गठन गरेका छन् । 
००००
पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा निस्किएका छन् । सोही क्रममा शुक्रवार उनी बाँकेको नेपालगन्ज पुगेका छन् । 
पूर्वराजा नेपालगन्ज पुग्दा राप्रपाका महामन्त्री धवल शमशेर राणाले विमानस्थलमा स्वागत गरेका छन् ।
००००
सरकारले नुवाकोटका किसान श्रीराम घिमिरेको माग पूरा गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यसचिव शङ्करदास वैरागीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई किसान घिमिरेले उठाएको माग सम्बोधन गर्न बिहीबार नै निर्देशन दिएका थिए ।

सचिव घिमिरेलगायतको टोलीले किसान घिमिरेसँग शुक्रबार पनि वार्ता गरेको थियो । सोही वार्ताका आधारमा माग सम्बोधन गर्ने प्रतिवद्धता सरकारको तर्फबाट व्यक्त भएको छ ।
००००
काठमाडौँ महानगरपालिकाले सहरको सुन्दरता कायम गर्न र सर्वसाधारणलाई सुरक्षा दिन आफ्नो क्षेत्रभित्रका कुनै पनि स्थानमा बाह्य विज्ञापन नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।  
त्यस्तै सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत् तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने गरी कुनै पनि ठाउँमा बाह्य विज्ञापन नगर्न कामपाले भनेको छ ।
००००
भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन् ।
गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् ।
००००
अर्थमन्त्री डा प्रकाशशरण महतले अयोग्य लडाकुलाई दुई लाख दिने मन्त्रीपरिषद्को निर्णयबारे अनविज्ञ रहेको बताए । शुक्रवार राष्ट्रिय युवासंघले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयविरुद्धको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा। महतले यस्तो बताएका हुन् ।

उनले पैसा बाड्ने कार्यविधि मन्त्रीपरिषद्ले पास गरेर अगाडि बढाउनेबारे आफूलाई जानकारी नभएको पनि बताए । उनले आफू अर्थमन्त्री भएपश्चात अर्थ मन्त्रालय र मन्त्रीपरिषद्ले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय नगरेको स्पष्ट पारे । 
००००
प्रमुख सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह मोटरसाइकल दुर्घटनामा परेकी छन् । शुक्रवार बिहान करीब साढे १० बजे कोटेश्वरमा भएको दुर्घटनामा परी सिंह घाइते भएकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्