
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रङ अझैसम्म स्पष्ट नभएको टिप्पणी गरेका छन् ।
राप्रपाको लुम्बिनी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न कपिलवस्तु पुगेका उनले पत्रकारसँग कुरा गर्दै वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले उपनिर्वाचनमा राम्रो मतान्तरले २ सिट जितेर राम्रो नतिजा ल्याएको भए पनि अझै उसको रङ भने स्पष्ट हुन नसकेको बताए ।
राप्रपासहितका कांग्रेस, एमाले, माओवादी जस्ता पार्टीहरूको रङ भने प्रस्ट भइसकेको दाबी थियो । रास्वपासँग डराउनुपर्ने स्थितिमा राप्रपा नभएको उनले बताए ।
पत्रकारसँगको कुराकानीमा उनले उपनिर्वाचनको मत परिणामले मतदाता विकल्पतर्फ र व्यक्ति केन्द्रित हुँदै गएको भन्ने देखिएको बताए ।
राप्रपाका मूल एजेन्डालाई केही वर्षभित्रै कांग्रेस, एमालेसहितका प्रमुख राजनीतिक दलले लिएर अघि बढ्ने उनको दाबी थियो ।