
आयातकर्ताले सवारीसाधन जाँचपास गराएर नलगेपछि १ हजारभन्दा बढी सवारीसाधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा थन्किएका छन् ।
बजारमा सवारी साधनको माग घटेको र बैंकहरूले समेत विलासिताकोे वस्तुमा पर्ने सवारीसाधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले सवारीसाधन जाँचपास गराएर नलग्दा आईसीपीमै सवारीसाधन थन्किएका हुन् ।
आयात गरेका सवारी साधन व्यवसायीको शोरुम वा गोदममा हुनुपर्नेमा महंगो मूल्यका सवारीसाधन लामो समयसम्म थन्किँदा समस्या भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिल्लीराम पन्थीले जानकारी दिए ।
उनका अनुसार भारतबाट आयात भएर आएका साना र ठूला गरी १ हजार ९०९ वटा सवारीसाधन भन्सारमै थन्किएको छ । आयात भएका कार/जीप ६२९ वटा, बस ३४ वटा, ट्रकका चेचिस ८४४ वटा, नयाँ चेचिस ३८६ र ट्रयाक्टर १० गरी १ हजार ९०९ वटा सवारीसाधन भन्सारमा थन्किएका प्रमुख पन्थीले बताए ।
भन्सारमा सवारीसाधन थन्किनुको प्रमुख कारण राष्ट्रिय अर्थतन्त्रमा देखिएको मन्दी भएको प्रमुख पन्थीको भनाइ छ । ‘भन्सार प्रशासनको कारणले भन्दा पनि मुलुकको अर्थतन्त्रमा देखिएको तरलता नै यसको प्रमुख कारण हो,’ प्रमुख पन्थीले भने, ‘आयातकर्ताले आयात गरेर त ल्याउनुभयो तर बजारमा सवारीसाधनको खासै माग छैन । त्यसैले उनीहरूले जाँचपास गराएर सवारीसाधन लैजान चासो देखाएका छैनन् ।’
आयातकर्तालाई गाडी छिटो लैजान र आईसीपीमा ठाउँ खाली गरिदिन आग्रह गर्दै आए पनि थोरै थोरै गरेर मात्र गाडी भन्सार जाँचपास गरेर लगिरहेको प्रमुख पन्थीले बताए । सरकारले विलासिताको वस्तु आयातमा रोक लगाएपछि वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन समेत प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० को साढे ९ महिनाको अवधिमा लक्ष्यको ५९ दशमलव ८२ प्रतिशत राजस्व संकलन गरेको छ ।