०२ असार २०८३, मंगलबार

विमानस्थल पूर्णरूपमा सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बैशाख २२, २०८०
विमानस्थल पूर्णरूपमा सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनको माग गर्दै भैरहवाका उद्योगी व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् ।

२५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८० समारोहमा सहभागी हुन लुम्बिनी आइपुगेका प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्रीको निकट भविष्यमा हुने भारत भ्रमणको शुरुवात पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

निकट भविष्यमा हुने भारत भ्रमणको शुरुवात गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रह गर्दै राष्ट्रिय ध्वजाबाहक जहाजको उडान नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी एयरलाइन्सहरू आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाजबाट सेवा शुरु गर्नुपर्ने वातावरण मिलाउन ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ ।

स्वदेशी राष्ट्रिय ध्वजाबाहक जहाजहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट संचालनमा आउदैन्न् तवसम्म विदेशी जहाजहरू भैरहवा आक्रशित नहुने भएकाले नेपाली ध्वजावहाक जहाजहरू संचालनको व्यवस्था मिलाउनु पर्ने संघका अध्यक्ष श्रेष्ठले बताए ।

यस्तै संघले नेपाल वायुसेवा निगमबाट तत्काल भैरहवा–दिल्ली, भैरहवा–मलेसिया, भैरहवा–कतार सेक्टरमा उडान शुरु गर्न र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भएकाले विश्वका सबै बौद्धिष्ट मुलुकहरूलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित वा चार्टर्ड उडानका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग माग गरेको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान हुने अन्तर्राष्ट्रिय विमानहरुमध्ये कम्तीमा २५ प्रतिशत अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानको व्यवस्था मिलाउनुपर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई उडान अवतरणका लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकोमा त्यो छुट १ वर्षसम्मका लागि निरन्तरता दिनुपर्ने व्यवस्था मिलाउन संघले माग गरेको छ । 

विमानस्थलमा उडान भएर सञ्चालनमा आउन नसकेका विद्युतीय उपकरणहरू शीघ्र सञ्चालनमा ल्याउनुपर्ने र विमानस्थल सञ्चालन अघि र पछि यहाँको पर्यटन सम्भावनादेखि होटल तथा पर्यटन व्यवसायमा रु. ६० अर्ब बढी लगानी भइसकेकोले अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरिएको लगानी असुरक्षित भएकोले सो लगानी सुरक्षित गराउने वातावरण मिलाउन प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गराउने विषयमा आफू सकारात्मक रहेको बताएका सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्