२५ असार २०८३, बिहीबार

तमानखोला गाउँपालिकामा एकल महिला स्वरोजगार कार्यक्रमले राहत

बैशाख २३, २०८०
तमानखोला गाउँपालिकामा एकल महिला स्वरोजगार कार्यक्रमले राहत

बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीका जसदेवी छन्त्याल ३० वर्षमै एकल हुन पुगिन् । ब्रेन ट्युमरले ३ वर्षअघि पतिको मृत्यु भएपछि छन्त्याललाई छोरा र  छोरीको लालनपालन शिक्षादीक्षाकै चिन्ताले सताउन थाल्यो ।

खेती किसानीले मात्रै परिवार पाल्न धौंधौं भएपछि छन्त्याल स्थानीयको खेतबारीमा समेत काम गरेर जीविका चलाउँदै आएकी छन् ।

छन्त्यालले यसपटक भने वडा कार्यालयले सञ्चालन गरेको एकल महिला स्वरोजगार कार्यक्रममार्फत आफूलाई केही राहत भएको बताइन् । कार्यक्रमअन्तर्गत आफैं उपभोक्ता समितिको अध्यक्ष भएर उनले वडाका अन्य महिलालाई समेत कार्यक्रममा सहभागी गराएर स्वरोजगार बन्न थालेकी छन् ।

‘छोराछोरी पाल्न मुस्किल, खेती किसानीबाट घर खर्च चलाउन धौंधौं थियो, कार्यक्रममार्फत एकल महिला मिलेर ३ स्थानमा पदमार्ग बनाइयो,’ छन्त्यालले भनिन्, ‘१ जना एकल महिलाको हातमा यसपटक ६ हजार पर्‍यो २ महिनाको घर खर्च टर्‍यो, प्लाष्टिक टनेल समेत अनुदानमा दिएको छ ।’

चालू आर्थिक वर्षमा कार्यक्रममा विनियोजित १ लाख बजेटबाट सय मिटर पदमार्गमा ढुंगा छपाइएको छ । वडाका एकल महिलाले आफैं ढुंगा बोकेर नर्जाखानी, पात्ले र भित्रिवनमा पदमार्ग मर्मत गरेका हुन् । 

एकल महिलालाई सामाजिक काममा सक्रियता बढाउन खोजिएको र आगामी आवमा कार्यक्रमका लागि ५ लाख बजेट विनियोजन गर्ने तमानखोला गाउँपालिका–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताए ।

वडाध्यक्ष छन्त्यालका अनुसार नर्जाखानी, पात्ले र भित्रिवन गरी ३ वटा टोलमा छुट्टाछुट्टै पदमार्ग मर्मत तथा ढुंगा बिच्छाउने कार्य गरिएको हो । ‘घरमै सीमित एकल महिलालाई सामाजिक काममा सक्रीय गराउने र आयआर्जनमा जोड दिने गरी कार्यक्रममार्फत यस वर्ष १९ जनालाई रोजगारी दिइएको छ, उनीहरूले आफ्नै टोलमा पदमार्ग बनाएका छन्,’ छन्त्यालले भने ।

अहिले वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत सडक मर्मत, पदमार्ग निर्माण र ग्याविन जाली भर्ने काम भइरहेको छ । वडा कार्यालयले वडाको योजनाका लागि विनियोजित बजेटबाट निर्माण सामग्री खरिद गरेर प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काम गराउँदा योजना प्रभावकारी बन्दै गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्