
कार्य व्यवस्था परामर्श समितिमा बजेट अधिवेशनलाई व्यवस्थित बनाउनेबारेमा छलफल भएको छ । आइतवार अपरान्ह ४ बजेबाट संघीय संसदका दुवै सदनको बैठक बस्दैछ ।
बैठकलाई कसरी व्यवस्थापन र प्रभावकारी बनाउने भन्नेबारेमा कार्य व्यवस्था परामर्श समितिको बैठक छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले बताए । उनले सदनलाई व्यवस्थित बनाएर अघि बढ्न नियमावलीमा व्यवस्था भएका कुरालाई कार्यान्वयन गरेर जाने बारेमा छलफल भएको बताए । सांसदहरुको इलेक्ट्रिक हाजिरी हुनुपर्ने व्यवस्थाका बारेमा पनि छलफल भएको बताए ।
उनले भने, ‘दोस्रो अधिवेशनलाई कसरी व्यवस्थित गर्न सकिन्छ, पहिलो अधिवेशनबाट प्राप्त शिक्षालाई लिँदै अब यसलाई व्यवस्थित बनाएर अघि बढ्ने बारेमा छलफल भयो । अब हाम्रो कार्यक्रम के हुन्छन् भन्ने बारेमा छलफल भयो, अब सदनलाई व्यवस्थित बनाएर अघि बढ्न नियमावलीमा व्यवस्था भएका कुरालाई कार्यान्वयन गरेर जाने बारेमा छलफल भयो । प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने विषयवस्तु, हाम्रो हाजिरी अहिलेसम्म रजिस्ट्रारमा गरिरहेका थियौँ, अब इहाजिरी लागू गरेर जानुपर्छ संसदमा भन्ने विषय र समितिका कामहरु व्यवस्थित बनाउने, सदनलाई प्रभावकारी कसरी गर्ने भन्नेबारेमा सुझाव दिने काम भयो । सरकारको सिद्धान्त र प्राथमिकताका बारेमा टेबुल हुन्छ । अधिवेशन ४ बजे भएकाले दुवै ठाउँमा सरकारका सिद्धान्त र प्राथमिकता रहनेछन् ।’