
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थिरताको कारक नै वर्तमान प्रचण्ड नेतृत्वको सरकार भएको टिप्पणी गरेका छन् । आइतबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले राजनीतिक प्रणालीलाई सही ढंगले अघि बढाउनु पर्ने भएपनि त्यसो गर्न नसकेको दाबी गरे ।
‘अस्थिरताको कारक नै अहिलेको सरकार हो’, उनले भने, ‘मंसिर ४ मा चुनाव भयो । आज हामी वैशाख २४ गतेसम्म आइपुगेका छौँ । यी बितेका महिनादेखि अहिलेसम्म सरकार परिवर्तन बाहेक केही हुन सकेको छैन । स्थानीय तहमा परिवर्तन गर्न नमिल्ने भएकाले मात्रै नत्र त्यहाँ पनि यही खेलो चलिरहन्थ्यो ।’
उनले प्रदेशमा पनि सरकार गठन र परिवर्तनको खेल चलाउने बाहेक केही हुन नसकेको टिप्पणी गरे । सरकार देशको हितका लागि भन्दा सत्ता स्वार्थमा केन्द्रित रहेको उनको भनाइ छ । ‘कोही छुट्दैछन् कोही भर्ती हुँदैछन् । अस्तिका दिन पनि एउटा घटकले सरकार छाड्यो । अझै सरकारले पूर्णता पाएको छैन’, ओलीले भने ।
१०–१० वटा पार्टीले सरकार बनाउन सक्दैनन् भने अरु केही गर्न नसक्ने ओलीको टिप्पणी छ । घटबढ भइरहँदा गठबन्धन पनि कति वटा दल हो भनेर टुंगो समेत नभएको उनले कटाक्ष गरे । ओलीले यो भन्दा ठूलो तमासा अरु केही हुन नसक्ने बताए ।
सरकारले जनताको पक्षमा केही गर्न नसकेको भन्दै ओलीले जनता नै रनभुल्लमा रहेको बताए । सरकारले बनाउने भन्दा पनि भत्काउने काम मात्रै गरिरहेको ओलीको आरोप थियो ।