
गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सुशासनलाई थप बलियो बनाउन गृह मन्त्रालयले काम गरिरहेको बताएका छन् ।
गृह मन्त्रालयले आइतबार आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यशाला गोष्ठी’ मा उनले मन्त्रालयले सुशासनलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।
उनले कार्यशालामा उठेका विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै यहाँबाट आउने सुझावलाई गृह मन्त्रालयले समयअनुसार सशक्त कार्यान्वयनमा लैजाने बताए ।
प्रतिनिधिसभा सदस्य मैना रावल कार्कीले द्वन्द्वका घटनालाई सरकारले समाधानको बाटोमा लैजानुपर्ने बताइन् । उनले द्वन्द्वबाट पीडित दुरदराजका जनतालाई समेत सरकारले न्याय दिनुपर्ने उल्लेख गरिन् ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले प्रत्येक व्यक्तिले न्याय पाउने वातावरण सरकारले निर्माण गर्नुपर्ने बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव लक्ष्मी बस्नेत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सहसचिव अरुणा जोशी, राष्ट्रिय योजना आयोगका सहसचिव प्रकाश दाहाललगायतले विषयगत मन्त्रालयले महिला हिंसाको क्षेत्रमा फरक–फरक कार्ययोजना बनाउनुभन्दा एउटै कार्ययोजना बनाएर त्यसलाई लागु गर्नुपर्नेमा जोड दिए ।